प्रहरी र विद्यार्थीबिचको झडपमा चार जना विद्यार्थी घाइते

  ०७५ माघ १७ गते

पोखरा मनपा–१ बगर स्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडि माघ १६ गते बेलुकी मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा चार जना विद्यार्थी घाइते भएका छन् ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यक्रम अन्तर्गत मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि  झडप भएको नेपाल विद्यार्थी सङ्घ कास्कीले जनायो ।

Photo20190131Kaski

प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीले ढुङ्गा प्रहार गर्दा झडप भएको नेविसङ्घले जनाएपनि जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले विद्यार्थीले नै ढुङ्गामुढा गरेको तर प्रहरीले कुनै प्रतिकार नगरेको दावी गरे ।

घाइते हुनेहरूमा पोखरा मनपा–१ बगर बस्ने नेपाल विद्यार्थी सङ्घ क्षेत्र नम्बर ३ का पूर्वसभापति २७ वर्षीय गोविन्द नेपाली, पर्वत घर भई पोखरा मनपा–१ बगर बस्ने पृथ्वीनारायण क्याम्पस मानविकी सङ्काय सचिव २० वर्षीय राज आचार्य, पोखरा मनपा–२८ कालिका बस्ने पृथ्वीनारायण क्याम्पस इकाई सदस्य २० वर्षीय अमृत पौडेल र स्याङ्जा घर भई पोखरा मनपा–५ प्रस्याङ् बस्ने संस्कृत क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनका कोषाध्यक्ष २० वर्षीय भरत पोखरेल रहेका छन् ।

घाइतेहरूको उपचार माघ १६ गते नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी घर फर्किएको नेपाल विद्यार्थी सङ्घ, कास्कीका निवर्तमान अध्यक्ष विकास थापाले जानकारी दिए ।


सुशन घिमिरे