प्रहरी र मानव अधिकारकर्मीबिच छलफल, मानव अधिकारप्रति प्रतिबद्धता

  ०७३ मङ्सिर १६ गते

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हरिराज वाग्लेले आन्दोलनका समयमा जिल्लामा दैनिक जनजीवनका अत्यावश्यकीय सामग्रीहरूको अभाव हुन नदिने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलसहित पाल्पामा क्रियाशील मानव अधिकारकर्मीहरूसँग मङ्सिर १६ गते तानसेनमा गरिएको छलफलका क्रममा वाग्लेले बन्द हड्तालको समयमा सार्वजनिक सवारी कम चल्ने भएकोले एम्बुलेन्सको माग बढी हुने भएकोले त्यसको सही ब्यवस्थापनमा आफूहरू लागिपरेको बताए । उनले प्रहरी मानव अधिकारमैत्री रहेको र मानव अधिकारकर्मीहरूसँग सहकार्यमै अगाडि बढेको बताए ।

एसपी वाग्लेले बिनु थापा पुलामीको हत्या र यसको अनुसन्धानको अवस्थाबारे समेत जानकारी गराएका थिए । भेटघाटमा सहभागी मानव अधिकारकर्मीहरूले बन्दको समय पारेर बजारमा कृतिम अभाव सृजना गराउने, म्याद गुज्रेका सामग्री बेच्ने लगायतका गतिविधि हुन सक्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।

छलफलमा क्षेत्रीय संयोजक खकुरेलसहित इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयकी प्रलेख अधिकृत सुमित्रा भट्टराई, जिल्ला प्रतिनिधि, शान्तिका लागि साझा अभियान कोक्यापका क्षेत्रीय संयोजक राजेन्द्र बस्याल, रिलेक नेपाल जिल्ला शाखा पाल्पाका प्रतिनिधि नेत्र गैरेलगायतको सहभागिता थियो । यसैबीच इन्सेक टोलीले रुपन्देही र पाल्पा जिल्लाको बन्दको अवस्थाको समेत अनुगमन गरेका छन् ।


यज्ञमूर्ति तिमिल्सिना