प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबिच झडप भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित

  ०७४ वैशाख ९ गते

जिल्ला निर्वाचन कार्यालयद्वारा राजविराजमा आयोजित मतदाता शिक्षा कार्यक्रम विथोल्ने क्रममा वैशाख ९ गते लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपमा मोर्चाका चार जना कार्यकर्ता घाइते भएका छन् ।

मतदाता शिक्षा स्वयम्सेवक र निर्वाचन शिक्षा कार्यकर्ताका लागि केअमाविमा आयोजित मतदाता शिक्षा कार्यक्रम स्थलमा प्रवेश गरी मोर्चाका कार्यकर्ताहरूले सामग्रीहरू खोस्न थालेपछि प्रहरीसँग झडप भएको जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले बताए ।

Photo20170422Saptari

झडपका क्रममा प्रहरीको लाठीचार्जबाट 'राष्ट्रिय जनता पार्टीका विनोद यादव, शम्भु यादव, आशोलाल यादव र मनोज राउत घाइते भएका छन् । घाइतेहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

झडपले तनावपूर्ण वातावरण भएपछि कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरले बताए ।

जिल्ला निर्वाचन कार्यालयले वैशाख ३ गते राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र कृष्णासबरन तथा तिलाठी कोइलाडी गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

बाँकी नौ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा वैशाख १२ गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले बताए ।


मनोहरकुमार पोखरेल