प्रहरी र प्रदर्शनकारी बीच झडप आठ प्रदर्शनकारी र २२ प्रहरी घाइते

  ०७६ माघ १५ गते

वीरेन्द्रनगर नपाको बजार क्षेत्रमा प्रहरी र प्रदर्शनकारी बीच माघ १४ गते भएको झडपमा आठ जना प्रदर्शनकारी र २२ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

भे १ ख २२४२ नम्बरको टिप्परको ठक्करबाट भे १ प २१७८ नम्बरको मोटसाइकलमा सवार कालिकोट जिल्ला महावै गाउँपालिका–३ का २१ वर्षीय केशर बहादुर सिंको माघ १४ गते मृत्यु भएपछि बिहानैदेखि वीरेन्द्रनगर बजार तनाव ग्रस्त भएको थियो ।

मृतकका आफन्त तथा प्रदर्शनकारीले उचित क्षतिपूर्ति तथा चालकलाई कारवाहीको मागगर्दै शुरु गरेको आन्दोलनले उग्ररुप लिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले चलाएको हवाई फायर तथा अश्रुग्यासबाट कालिकोट खाडाचक्र नपा–५ का १८ वर्षीय दिलबहादुर शाही, सोही जिल्लाको शुभकालिका गाउँपालिका–३ का १९ वर्षीय नरेन्द्र शाही, जुम्ला तातोपानी गाउँपालिका–४ का २५ वर्षीय महेश गौतम, कालिकोटका २२ वर्षीय कमान सिं, दैलेखका १६ वर्षीय हिवेशकुमार शाही, १६ वर्षीय कृष्णबहादुर थापा र १७ वर्षीय गोकुल गिरी घाइते भएका छन् ।

दिलबहादुरको देबे्र पैतला, नरेन्द्रको दाहिने पाखुरा तथा महेश गौतमको दुवै खुट्टामा चोट लागेको छ । उनीहरू तीनै जनाको वीरेन्द्रनगरस्थित सुर्खेत अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरू उपचारपछि घर फर्किएका छन् ।

झडपमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी डिल्लीराज पन्तसहित २२ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरी तर्फका घाइतेको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनु भयो ।

प्रदर्शनकारीहरूले वीरेन्द्रचोक र मङ्गलगढी चोकमा राखिएका सिसिक्यामरा तथा एरिचोकमा रहेको प्रहरी बिट तोडफोड गर्नुको साथै उद्योग वाणिज्य सङ्घ र सामाजिक विकास मन्त्रालयमा समेत आक्रमण प्रयास गरेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

माघ १४ गते उत्तेजित भीडले सार्वजनिक सम्पत्ति तोडफोड गर्नुको साथै प्रहरीलाई ढुङ्गा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन ३२ राउण्ड हवाई फायर गरिएको एसपी पन्तले बताउनु भयो ।

यसैबीच प्रहरीले प्रर्दशनमा उत्रिएका ३२ जनालाई नियन्त्रणमा लिएकोमा २९ जनालाई माघ १५ गते साँझ रिहा गरेको र तीन जनालाई प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाको आरोपमा नियन्त्रणमा राखिएको प्रजिअ अधिकारीले बताउनु भयो । आन्दोलनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले वीरेन्द्रनगर बजारको निश्चित क्षेत्रमा १४ गते साँझ ६.३० बजेदेखि १५ गते बिहान ६ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो ।

टिप्पर चालक वीरेन्द्रनगर नपा–१० का २५ वर्षीय राजकुमार बोहरा र टिप्परलाई घटना भएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना हुनु आफैमा दुखद भएको बताउँदै प्रजिअ अधिकारीले पीडित पक्षसँग वार्ता भएको र समस्याका समाधानमा लागि परेको बताउनु भयो ।

DSC03496 DSC03498 DSC03501
फोटोहरु ।

कालिकोटका केशरबहादुर सिंलाई टिप्परले ठक्कर दिई मृत्यु भएको घटना लगत्तै आन्दोलमा उत्रिएका प्रर्दशनकारी माथि प्रहरीले चलाएको हवाई फायरबाट दाहिने पाखुरामा सिसाको छर्रा लागेका कालिकोटका नरेन्द्र, देबे्र खुट्टाको पैतलामा सिसाको छर्रा लागेका दिलबहादुर शाही र प्रहरीको लाठीबाट दुवै खुट्टामा चोट लागेका जुम्लाका महेश गौतम सुर्खेत अस्पतालमा उपचार गराउँदै ।


दुर्गा थापा