प्रहरी र प्रदर्शनकारीबिच झडप, दुई जना प्रदर्शनकारी घाइते

  ०७५ माघ १८ गते

सरकार विरोधी प्रर्दशनमा उत्रिएका नेविसङ्घका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा दुई जना प्रदर्शनकारी घाइते भएका छन् ।

माघ १८ गते बीरगंजमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच विद्यार्थीका झडप भएको हो ।

झडपमा परि बीरगंज महानगरपालिका–१४ पिप्रा निवासी २४ वर्षीय  विकेश पटेल र  बीरगंज महानगरपालिका–१६ नगवाका २० वर्षीय रञ्जन चौरसिया घाइते भएको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य बद्री तिवारीले जानकारी दिए ।

ठाकुरराम बहुमूखी क्याम्पसबाट निस्केको विरोध जुलुश आदर्शनगरमा पुगी प्रधानमन्त्री ओलीको पुत्ला जलाउन खोज्दा प्रहरीले गरेको हस्तक्षेपका कारण पुत्लाको आगोले विद्यार्थी नेता पटेलको अनुहार जलेको तिवारीले वताए ।

सोही क्रममा अर्का विद्यार्थी नेता चौरसिया पनि घाइते भएको उनले जानकारी गराए । चौरसियाको घुँडामा चोट लागेको छ ।

उनी बीरगंजको नारयाणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । पटेलको अनुहार जलेको हुनाले उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

यसैबिच नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर घाइतेको अवस्थाको बारेमा जानकारी लिएका छन् ।


केसी लामिछाने