प्रहरी प्रशासनले सुनुवाइ नगरेपछि जिल्ला अदालतमा घरेलु हिंसाको उजुरी, संरक्षणात्मक आदेश जारी

  ०७७ असोज २४ गते

सप्तकोशी नपा–४ बलार्दह की २८ वर्षीया रञ्जनादेवी झाले उनको ससुरा ५५ वर्षीय देवेन झा, सासु ४८ वर्षीया बिदोतमादेवी झा र पति ३० वर्षीय नारायण झाविरुद्ध जिल्ला अदालतमा असोज २१ गते घरेलु हिंसाको उजुरी दिनु भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको असोज २२ गतेको इजलासले पीडितका हकमा शान्तिपूर्वक घरमा बसोबास गरी खानलाउन दिनु, अश्लिल बोली र दुर्व्यवहार नगर्नु, धाकधम्की, कुटपिट र शारीरिक तथा मानसिक यातना नदिनु भनेर आरोपितहरूका नाममा अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी फत्तेपुरले आरोपितहरूविरुद्ध कारवाही प्रकृया अगाडि नबढाएपछि न्याय माग्दै अदालत पुगेको पीडितले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

छोरी मात्र जन्माएको कारण यातना खेप्दै आएको बताउँदै पीडितले दुई, पाँच र सात वर्षीया छोरीहरूका हकमा संरक्षक भई आफ्नो हकमा समेत घरेलु हिंसाको उजुरी दिँदै अन्तरिम संरक्षणात्मक आदेशको माग गर्नु भएको प्रदेश २ को प्रादेशिक कानुनी सहायता अधिकृत किरण साहले बताउनु भयो ।

सामाजिक परम्परा अनुसार नौ वर्ष पहिले विवाहित पीडितबाट छोरा नजन्मिएको दोष दिँदै आरोपितहरूले घरको छतबाट धकेलेर खसालेको, बञ्चरोले प्रहार गरेको, दाइजो मागेको, कुटपिट गरेको र नाबालक छोरीहरूलाई खानलाउन नदिई घरबाट निकाल्न खोजी गालीगलौज गरी शारीरिक तथा मानसिक यातना दिएको पीडितले बताउनु भयो ।

आरोपितहरूले असोज १४ गते खाना पकाउने क्रममा फलामको रडले कुटपिट गरेको, सुत्ने खाटबाट खसाली लातमुक्काले कुटपिट गरेको भन्दै पीडितले गुहार माग्दा छिमेकीहरूले जोगाएको बताउनु भयो ।

पीडितले सँगै बस्दा ज्यान जोखिममा रहेकाले छुट्टै बस्ने र औषधि उपचार, खानाका लागि मासिक २५ हजार रुपियाँ खर्च भराउन तथा आरोपितहरूलाई कारवाहीस्वरूप हदैसम्मको सजाय गर्न माग गर्नु भएको छ ।


मनोहरकुमार पोखरेल