प्रहरी कारवाहीमा मृत्यु भएका पौडेलकी आमाद्वारा किटानी उजुरी

  ०७६ माघ २४ गते

बागमती नपा–२ निवासी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेललाई प्रहरीले हत्या गरेको भन्दै मृतक पौडेलकी आमा दुर्गा देवी पौडेलले जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीमा माघ २४ गते जिल्ला हुलाक कार्यालयमार्फत किटानी उजुरी दिनु भएको छ ।

मृतक पौडेलकी आमा दुर्गादेवीले तत्कालीन जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका एसपी गोपाल भट्टराई, प्रदेश प्रहरी कार्यालय जनकपुरका डिआईजी हरिबहादुर पाल, ईलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर किरण प्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय नवलपुरका सई सुर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाही मलङ्गवाका डा. बिरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यारत रही प्रहरी महानिरीक्षकबाट खटाइएको प्रहरी हबल्दार सत्यनारायण मिश्र, प्रहरी हबल्दार बिनोद साह, घटनाका मुख्य सुटर इन्स्पेक्टर कृष्णदेव प्रसाद साह र सर्लाही जिल्ला बागमती नपा–११ बागमती निवासी हाल बागमती नगरपालिकाका मेयर ४६ वर्षीय भरतकुमार थापाविरुद्ध किटानी उजुरी दिनु भएको हो ।

माघ २३ गते मृतक पौडेलकी आमाले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दिएको किटानी उजुरी एसपी विश्वमणी पोखरेलले दर्ता नगरेपछि हुलाक कार्यालयमार्फत माघ २४ गते दर्ता गराउनु भएको हो । पीडित आमा दुर्गाले छोरालाई प्रहरीले हत्या गरेर प्रहरी जवाफी कारवाहीमा मारिएको भनेर झुठो विवरण दिएकाले आफुले न्यायको लागि उजुरी दिएको बताउनु भएको छ ।

पीडितले दिएको उजुरीमा राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम लगायतका संघसंस्थाहरुले घटनाको अनुगमन, अनुसन्धान गरि सार्वजानिक गरेको प्रतिवेदन समेत संलग्न गरि उजुरी दिएको बताउनु भयो ।
पौडेलको ०७६ असार ५ गते दिउँसो अन्दाजी २ बजे लालबन्दी नपा–१ स्थित लखनदेही नजिकैको जङ्गलमा प्रहरी कारवाहीमा मृत्यु भएको थियो ।


बुधन साह