प्रहरीसँगको विवादपछि एक युवा सम्पर्कविहीन

  ०७६ साउन १६ गते

गुठीचौर गाउँपालिकास्थित प्रहरी चौकीका प्रहरीसँगको विवाद पछि एक युवा सम्पर्कविहीन भएका छन् । सोही गाउँपालिका–४ खल्लावाडाका ३४ वर्षीय डिल्लीराज खत्री साउन १३ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

‘बेपत्ता’ भएका खत्रीसहित सोही वडाका ३० वर्षीय सागर खत्री, ३३ वर्षीय लोकेन्द्र खत्री, २९ वर्षीय गोविन्द न्यौपाने र ३२ वर्षीय लोक पाण्डेले मदिरा सेवन गरी प्रहरीसँग विवाद गरेको स्थानीय नन्दप्रसाद न्यौपानेले बताए ।

उनले भने–‘मदिरा सेवन गरेका उनीहरूले प्रहरीलाई हातपात गरेको र प्रहरीले नियन्त्रणमा लिन खोज्दा भागेर बेपत्ता भएको भन्ने बुझिन आएपनि स्पष्ट कोही कसैलाई जानकारी छैन । अहिलेसम्म सास र लास केही पनि भेटिएको छैन ।’

प्रहरी चौकीका इन्स्पेक्टर नविन वलीका अनुसार बेपत्ता व्यक्तिको विषयमा खोजतलास भइरहेको छ । नदीमा बगेको भन्ने आशङ्का गरिएकोले खोज उद्धार टोलीलाई पनि खटाइएको उनको भनाई छ ।

यसअघि डिल्लीप्रसाद खत्रीले सदरमुकाम खलङ्गास्थित चन्दननाथ नपा–१ ठिन्के भन्ने स्थानमा गस्तीमा हिँडेको प्रहरीमाथि ०७२ माघ १६ गते राति ८ बजे गोली प्रहार गरेका थिए ।

बाँके जिल्ला कुम्ती–९ स्थायी घर भई तत्कालिन कर्णाली अञ्चल प्रहरी कार्यालय जुम्लामा कार्यरत ३९ वर्षीय प्रहरी जवान दिपक रोक्का गस्तीमा हिँडेको अवस्थामा खत्रीले गोली प्रहार गरेका थिए ।

गोली लागेर प्रहरी जवान दिपकको पेटमा सामान्य चोट र ज्याकेट प्वाल परेको थियो । स्वचालित पेस्तोल सहित डिल्लीराज खत्रीलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग र हातहतियार खरखजनासम्बन्धी मुद्दा चलाइएको थियो । ६ वर्षको कैद भुक्तान गरी खत्री जेठ १५ गते जिल्ला कारागार जुम्लाबाट छुटेका थिए ।


मानदत्त रावल