प्रहरीले बल प्रयोग गर्दा सांसद परियार घाइते

  ०७७ असार ११ गते

रुकुम पश्चिमको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाली काङ्ग्रेस सांसद ४३ वर्षीया लक्ष्मी परियार घाइते हुनु भएको छ ।

रुकुम पश्चिमको सोती घटनाको निष्पक्ष छानबिनको माग गदै असार १० गते प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराउन जाने क्रममा प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रहरीको लाठी प्रहारबाट आफ्नो बाँया हातको तीन ओटा औलामा गम्भीर चोट लागेको सांसद परियारले इन्सेक जिल्ला प्रतिनिधिलाई फोनमा जानकारी दिनुभयो ।

‘‘प्रहरीले जबरजस्ती गिरफ्तार गरी भ्यानमा राख्ने क्रममा लाठि प्रहार गर्‍यो” उहाँले भन्नुभयो । सांसद परियारको वीर अस्पतालमा सोही दिन उपचार भएको छ । उहाँ हातमा लागेको चोटको उपचार गरी सोही दिन निवास फर्किनु भएको हो ।

सोही क्रममा प्रहरीले सांसद परियार सहित १० जनालाई गिरफ्तार गरेर तीन घण्टापछि छाडेको छ । यसरी गिरफ्तार गरिएकाहरूमा संविधान सभा सदस्य जीवन परियार, सुनिता मरिक ‘डोम’, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल रहनु भएको छ ।

गत १० जेठमा अन्तरजातीय विवाह गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ को सोती गाउँ पुगेका जाजरकोट भेरी नगरपालिका–५ का २१ वर्षीय नवराज बिकसहित ६ जना युवाहरूको हत्या भएको थियो ।

सोही घटनाको स्वतन्त्र छानबिन गरी दोषिमाथी कारबाहीको माग गर्दै संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले काठमाडौँमा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।


विमला पौडेल