प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

  ०७७ चैत १० गते

लम्कीचुहा नगरपालिका-१ स्थित लम्की इलाका प्रहरी कार्यालय अगाडि चैत १० गते प्रहरीले चलाएको गोली लागि दुई जना स्थानीय घाइते भएका छन् ।

घाइते हुनेमा लम्कीचुहा नगरपालिका-१ का २५ वर्षीय कृष्ण प्याकुरेल र सोही  ठाउँका १८ वर्षीय दिपक सन्ज्याल रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर हिक्मत थापाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

प्याकुरेलको पेटमा र सन्ज्यालको तिघ्रामा गोली लागेको छ । पेटमा गोली लागेका प्याकुरेलको स्वास्थ्य अवस्था जटिल रहेको र सन्ज्यालको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बौनियाबाट टिकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको चैत १० गते बिहान मृत्यु भएपछि आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय, लम्कीमा घेराउ गरी नाराबाजी गरेका थिए ।

स्थानीयले इलाका प्रहरी कार्यालय, लम्कीमा घेराउ गरेपछि भिडलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर थापाले बताउनु भयो ।

बर्दगोरिया गाउँपालिका-१ निवासी ३१ वर्षीय बस चालक पुष्प कँडेललाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरी अनुसन्धान गरिररहेको इन्स्पेक्टर थापाले बताउनु भयो ।


मैनामोती चौधरी