प्रहरीमा किटानी उजुरी दर्ता नगरेको पीडित परिवारको आरोप

  ०७७ जेठ ३२ गते 

इलाका प्रहरी कार्यालय सवैलाको हिरासत कक्षको शौचालयमा जेठ २७ गते राती शङ्कास्पद अवस्थामा झुन्डिएर मृत्यु भएका सबैला नगरपालिका–१२ का २२ वर्षीय शम्भु सदा मुसहरको हत्या गरिएको पीडित परिवारले दावी गर्दै जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको किटानी जाहेरी दर्ता नगरेको पीडित परिवारले आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले जाहेरी दिन बोलाएर आफुहरुले दिएको किटानी जाहेरी दर्ता नगरेको मृतकका आमा सियाली देवी सदाले बताउनु भयो ।

पीडित परिवारको तर्फबाट इलाका प्रहरी कार्यालय सवैलाका इन्स्पेक्टर ४० वर्षीय चन्द्रभुषण यादव, सवैला नगरपालिका–१२ का ४२ वर्षीय ट्रयाक्टर मालिक संजय साह, वडा नं. ९ का ३८ वर्षीय वडा अध्यक्ष पारस साह लगायत चार जनाविरुद्ध किटानी जाहेरी दिएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी रमेश बस्नेतले विना नामको जाहेरी दिन भन्दै मुद्दा दर्ता नगरेको पीडितकी आमा सियालीदेवीले गुनासो गरिन् ।

घटना जेठ २७ गते राती नै भएपनि शवको पोष्टमार्टम हुन सकेको छैन । शवको पोष्टमार्टम गर्न जेठ २८ गते जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमति अनुसार पोस्टमार्टम टिमसँग पीडित परिवारको तर्फबाट एक जना चिकित्सकको रोहवरमा पोस्टमार्टम गर्ने सहमति भएपनि प्रादेशिक अस्पताल जनकपुरले बाहिरको मान्छेलाई पोस्टमार्टममा राख्न नमिल्ने अडान लिएपछि शवको पोस्टमार्टम हुन नसकेको राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले व्यक्तिको नामसहित किटानी गरेकोले दर्ता नगरेको र बिना नामको उजुरी दिन भनेको बताउनु भएको छ ।


दीपेन्द्रप्रसाद सिंह