प्रहरीले उजुरी नलिएको पीडितको गुनासो,न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह

  ०७७ असार १ गते

देवानगञ्ज गाउँपालिका–३ का ३६ वर्षीय अरविन्दकुमार यादवले सशस्त्र प्रहरी विरूद्ध नेपाल प्रहरीले उजुरी नलिएको गुनासो गर्नु भएको छ ।

यादवले न्यायका लागि पहल गरीदिन आग्रह गर्दै असार १ गते इन्सेक सुनसरी प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालयमा निवेदन दिनुभएको छ ।

जेठ ३० गते सशस्त्र प्रहरी बल सिमा सुरक्षा वेश क्याम्पका जवान कृष्ण भुजेलले अपशब्द प्रयोग गर्दै कुटपिट गरेको पीडितको आरोप छ ।

दशगजा क्षेत्रमा रहेको आफ्नो खेतमा मकै लिन गएको समयमा कृष्ण भुजेलले नजराना मागेको र आफूले नदिएपछि कुटपिट गरेको पीडितको भनाइ छ ।

सशस्त्र प्रहरी बल सिमा सुरक्षा वेश क्याम्प देवानगञ्जका इन्स्पेक्टर पशुपति पुरीले जवान कृष्ण भुजेलले कुटपिट नगरेको तर सम्झाइबुझाइ भने गरेको बताउनुभयो ।

पीडित पक्षले असार १ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा सशस्त्र प्रहरी इन्स्पेक्टर पशुपति पुरी र जवान कृष्ण भुजेल विरूद्ध उजुरी दिदाँ नेपाल प्रहरीले उजुरी नलिएको पीडित अरविन्दकुमार यादवले बताउनुभयो ।

यादवले जिल्ला प्रहरी कार्यालय सुनसरीमा शान्ति सुरक्षा कायम गरी घाउँजाँच केश फारम भरी कानुनी कारबाही गरी पाउँ भनेर निवेदन लिएर जाँदा प्रहरीले निवेदन लिन अस्वीकार गरेको बताउनुभयो ।

पीडितको निवेदनपछि इन्सेक प्रतिनिधिले न्यायका लागि पहल गर्दा जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले सशस्त्र प्रहरी बलको छुट्टै विभागीय कारबाही गर्ने निकाय हुँदा पीडितलाई सोही निकायमा उजुरी दिन आग्रह गरेको बताउनुभयो । एसपी थापाले राज्यले सबैलाई न्याय दिने भएकाले पीडितले जिल्ला प्रशासन वा जिल्ला अदालतमा निवेदन दिन सक्ने बताउनुभयो ।

सशस्त्र प्रहरी जवान कृष्ण भुजेलको कुटपिटबाट यादवको हात र गोडामा चोट लागेको छ ।


जयकृष्ण यादव