प्रहरीबाट कुटपिट घटनाका पीडितलाई इन्सेकको पहलमा प्रहरीबाट उपचार खर्च प्रदान

  ०७७ माघ २९ गते

सङ्खुवासभाको मादी नगरपालिका–८ स्थायी घर भई छथर जोरपाटी गाउँपालिका–३ ताङखुवामा बस्दै आउनु भएका ४१ वर्षीय नेत्रबहादुर कडुवालले इन्सेकको पहलमा प्रहरीबाट उपचार खर्च पाउनु भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको पहलमा माघ २६ गते विल अनुसार पीडितले उपचार खर्च पाउनु भएको छ ।

पीडित पक्षले इन्सेक प्रतिनिधिसमक्ष प्रहरीसँग उपचार खर्च माग गरिदिन निवेदन दिएपछि इन्सेकको पहलमा पीडित पक्ष,प्रहरी र सरोकारवालाबिच भएको छलफल पश्चात प्रहरीले विल अनुसारको रकम पीडितलाई उपलब्ध गराएको छ ।

आमा भेट्न मादी नगरपालिका–८ ओइराङ्ग पुगेको अवस्थामा पुस २३ गते राति दुई जना बर्दी लगाएका र दुई जना बर्दी नलगाएका प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भएको थियो ।

आफूसँगै ३१ वर्षीया भाईबुहारी सरीता कटुवाललाई समेत बिना कारण प्रहरीले कुटपिट गरेको पीडित कडुवालले बताउनु भयो । सो विषयमा इन्सेकले पुस २८ गते “वास्तविकता नबुझी प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप” शीर्षकमा इन्सेक अनलाइनमा समाचार प्रकाशन गरी प्रहरीको ध्यानाकर्षण गराएको थियो ।

प्रहरीको कुटपिटबाट छाती, सम्वेदनशील अङ्गमा चोट लागेका पीडित उपचारका लागि जिल्ला अस्पताल धनकुटा भर्ना भएको समयमा इन्सेकले पीडित पक्षसँग भेटघाट गरी घटनाको वारेमा अनुगमन गरेको थियो ।

पीडित कडुवाललाई सुनसरी, इटहरी उपमहानगरपालिका–२ स्थायी घर भई मादी मङ्गलवारे चौकीमा सई पदमा कार्यरत ३५ वर्षीय नरेश आचार्य, विराटनगर महानगरपालिका–७ स्थायी घर भई मादी प्रहरी चौकीमा हवल्दार पदमा कार्यरत ४३ वर्षीय लेखनाथ रेग्मी,सप्तरी, राजविराज नगरपालिका–७ स्थायी घर भई मादी प्रहरी चौकीमा जवान पदमा कार्यरत २४ वर्षीय दिनेश गुप्ता र सिरहा, लहान नगरपालिका–३ स्थायी घर भई मादी प्रहरी चौकीमा जवान पदका कार्यरत २६ वर्षीय अशोक ठाकुरले बिना कारण नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।

मादक पदार्थ सेवन गरेका प्रहरीहरूले एक घण्टाको बाटो पैदल हिँडाएको र कुट्दै लगेको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भएको थियो ।

पीडितले पटकपटक प्रहरीसँग आफूले कुनै गल्ती नै नगरी प्रहरीले मरणासन्न अवस्थासम्म पुर्‍याएको र उजुरी दिन खोज्दा प्रहरीले लिन नमानेपछि न्यायका लागि पहल गरीदिन पीडित कडुवालले इन्सेक प्रतिनिधिसँग आग्रह गर्नु भएको थियो ।

इन्सेक प्रतिनिधिले पीडित पक्षको अवस्थाका बारेमा अनुगमन गरी सरोकारवाला पक्षसँग छलफल गरेपछि प्रहरीले विल अनुसारको रकम पीडितलाई उपलब्ध गराएको हो ।

पीडितको स्वास्थ्य चेकजाँचका क्रममा धनकुटा अस्पतालमा लागेको रकम १८ हजार ५ सय ८० रुपियाँ र सङ्खुवासभाबाट धनकुटा आउँदाको एम्बुलेन्स भाडा १४ हजार ५ सय रुपियाँ धनकुटा प्रहरीले पीडित पक्षलाई उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारीले बताउनु भयो । अधिकारीले सो रकम सङ्खुवासभा प्रहरीबाट धनकुटा प्रहरीले लिने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी नवराज मल्लले कुटपिटका  विषय प्रहरीको केही गल्ती भएकाले धनकुटा प्रहरीलाई उपचारबापत लागेको रकम पठाइएको बताउनु भयो ।

उहाँले प्रहरीबाट भएका गल्ती कमजोरीका विषयमा इन्सेकले अनुगमन गरी पीडितलाई न्याय दिलाएको विषयले आफूलाई मानव अधिकारका विषयमा गम्भीर बनाएको बताउनु भयो ।

माघ २६ गते इन्सेकको पहलमा भएको छलफलमा छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू, धनकुटाका एसपी गोविन्द अधिकारी, धनकुटा अस्पतालका डाक्टर पुजन विश्वकर्मा र पीडित कडुवाल र कडुवालकी दिदी सम्झना भट्टराई र ३३ वर्षीया पत्नी लीला कडुवाल उपस्थित हुनुहुन्थ्यो ।

गाउँपालिका अध्यक्ष लिम्बूले पीडितलाई उपचार खर्चसम्म नपाएको अवस्थामा इन्सेकले गरेको पहल सराहृनीय भन्दै प्रहरीलाई वास्तविकता बुझ्न अनुरोध गर्नुभयो । उहाँले यस्ता घटना नदोहोरिन सबैले खबरदारी गर्नुपर्ने बताउनु भयो ।

पीडित कडुवालले प्रहरी गरेको ज्यादती र त्यो माथि उपचार खर्च समेत नपाएकोमा इन्सेकले सहयोग गरी जीवनमा भुल्नै नसकिने गरी सहयोग गरेको भन्दै इन्सेकलाई धन्यवाद दिनुभएको छ ।

आर्थिक विपन्नताका कारण क्षतिपूर्ति पाउन पहुँच अभावका कारण पछि पर्नु भएका कडुवालले सहयोग गरिदिन अनुरोध गरेपछि इन्सेकले समन्वय तथा पहल गरी पीडितलाई न्याय दिलाएको हो ।

प्रहरीको कुटाईबाट यौन अङ्ग सुनिएको, टाउको, छाती, तिघ्रामा चोट लागेका कडुवाललाई जिल्ला अस्पताल धनकुटामा पुस २४ गतेदेखि माघ ६ गतेसम्म उपचार गरिएको अस्पतालका प्रमुख पुजन विश्वकर्माले बताउनु भयो ।

Photo 20210209 Netra kadwal (2) Photo 20210206 Nibedan Dhankuta Photo 20210210 Dhankuta


ईश्वर थापा