प्रहरीद्वारा गोली चलाइएको घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन

  ०७५ चैत २६ गते

सुरक्षामा खटिएका प्रहरीले मादक पदार्थ सेवन गरी सर्वसाधारणमाथि गोली चलाएको विषयमा छानबिन गर्न डिएसपीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

डिएसपी ज्ञानेन्द्र फुयाँल, एक इन्स्पेक्टर र मुद्दा शाखाका एक प्रहरी अधिकारी रहेको छानबिन समिति चैत २४ गते गठन गरिएको एसपी राजन अधिकारीले बताए । छानबिन समितिले तीनदिन भित्र घटनाको प्रतिवेदन सार्वजनिक गर्ने भने पनि स्वास्थ्य परीक्षण रिपोर्ट नआएकाले घटना टुङ्गो लगाउन नसकिएको एसपी राजन अधिकारीले बताए ।

चैत २२ गते स्थानीयले भारतीय बजारबाट मल ल्याउने क्रममा हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको सीमामा सुरक्षाका लागि बसेका प्रहरीलाई नजराना नदिएको विषयमा प्रहरी चौकी उल्टीका सई चन्द्र शाक्यले गोली चलाउँदा नरसिंह गाँउपालिका-८ का ३० वर्षीय ज्यावुल मन्सुर दायाँ हातमा गोली लागी घाइते भएका थिए ।

भारतबाट मल ल्याएको विषयमा सई शाक्यले स्थानीय युसुफ मियाँसँग पैसा मागेको र पैसा नदिएपछि युसुफलाई हातपात गर्ने क्रममा स्थानीय प्रहरी माथि आक्रमणमा उत्रिएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा मन्सुर घाईते भएको एसपी राजन अधिकारीले बताए ।

खेतमा काम गरीरहेका प्रत्यक्षदर्शीका अनुसार सई शाक्यले मादक पदार्थ सेवन गरी ड्युटी गरीरहेका थिए र युसुफले पैसा नदिएपछि हातपात गर्दै गोली चलाएका थिए । गोली चलाउँने क्रममा घम्साघम्सी हुँदा सई शाक्यको हातमा चोट लागेको थियो ।

घाइते मन्सुर चैत २२ देखि २४ गतेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई घर फर्किएका छन् भने सई शाक्य घटना भएकै दिन सामान्य उपचारपछि काममा फर्किएको एसपी अधिकारीले बताए ।

छानबिन समितिका संयोजक डिएसपी फुयाँलले प्रतिवेदन प्राप्त हुनासाथ बित्तिकै जो दोषी देखिन्छ, उसलाई कारबाही गर्ने बताए । स्थानीयले भने मापसे गरी ड्युटी गर्ने सई शाक्य दोषी भएको र उनलाई कारबाही गर्न माग गर्दै आएका छन् ।

घटनामा दोषी प्रमाणित नहुन्जेल घाइतेको उपचार खर्च आफैँले व्यहोर्ने र दोषी पत्ता लागेपछि छानबिन समितिको निर्णय अनुसार कारबाही अघि बढाउने छानबिन समितिका संयोजक डिएसपी फुयाँलले बताए ।


जयकृष्ण यादव