प्रहरीको सक्रियतामा बालविवाह रोकियो

  ०७६ फागुन १६ गते

धनुषा प्रहरीको अग्रसरतामा फागुन १४ गते क्षिरेश्वरनाथ नगरपालिका र नगराइन नगरपालिकामा विवाह गर्ने उमेर नपुग्दै अभिभावकहरूले गराउन लागेको बालविवाह रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा प्राप्त सुचनाको आधारमा क्षिरेश्वरनाथ नगरपालिकाका कक्षा नौ मा अध्ययनरत १६ वर्षीया बालिकाको सोही नगरपालिका बस्ने २४ वर्षीय युवकसँग सामाजिक रूपमा हुुन लागेको बालविवाह रोकिएको हो ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकको नेतृत्वमा विवाह हुने घरमा पुगेर नेपाल सरकारको कानुनअनुसार विवाह गर्ने उमेर नपुगेको भन्दै बालविवाह नगर्न अभिभावक र छिमेकीलाई सम्झाएपछि बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिनु भएको छ ।

त्यसैगरि नगराइन नगरपालिकाका १७ वर्षीया बालिकाको फागुन १४ गते औरही गाउँपालिकाका २२ वर्षीय युवकसँग सामाजिक परम्पराअनुसार हुन लागेको बालविवाह समेत प्रहरीकको सक्रियतामा रोकिएको छ ।

अस्थाई प्रहरी चौकी डेवडिहाका सई ज्ञानेन्द्र ढकालको नेतृत्वमा रहेको प्रहरी टोलीले अभिभावक, नगराइन नपा–७ का वडा अध्यक्ष रामदुलार मुखिया लगायतको स्थानियहरूको रोहवरमा हुन लागेको बालविवाह रोकिएको सई ढकालले जानकारी दिनु भएको छ ।

नेपाल सरकारले अहिले विवाह गर्ने उमेर २० वर्ष तय गरेको छ । तर, २० वर्ष नपुग्दै विवाह भई रहेको सुचना पाएर प्रहरीले कानुनी रूपमा विवाह रोकाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बस्नेतले बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह