प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियूका संयोजक ऐन महर सहित तीन जना घाइते

  ०७६ भदौ १९ गते

प्रहरीको लाठी प्रहारबाट भदौ १८ गते सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी सङ्गठन अनेरास्ववियूका संयोजक ऐन महरसहित तीन जना घाइते भएका छन् ।

 

चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमका स्ववियू सभापति मिलन गैरेलगायतका नेताहरूलाई प्रहरीले भदौ १८ गते गिरफ्तार गरेपछि गैरेलगायतका नेताहरूलाई भेट्न ठूलो सङ्ख्यामा नेपाल पुलिस क्लब पुगेका विद्यार्थीहरूलाई प्रहरीले गेटभित्र प्रवेश गर्न नदिन बल प्रयोग गरेको थियो ।

 

स्ववियू सभापति गैरेलागयतका नेताहरूलाई भेट्न जाने क्रममा प्रहरीले विद्यार्थीहरूमाथि बलपूर्वक लाठी प्रहार गर्दा आफूलगायत तीन जना घाइते भएको विद्यार्थी सङ्गठन अनेरास्ववियूका सचिव समिक बडालले बताए ।

 

घाइते हुनेमा बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–४ का ३७ वर्षीय ऐन महर, काभ्रे जिल्ला रोशी गाउँपालिका–९ का ३४ वर्षीय समिक बडाल र भोजपुर जिल्ला शडानन्द नगरपालिका–३ का ३७ वर्षीय सुदेश पराजुली रहेका छन् ।

 

प्रहरीको लाठी प्रहारबाट आफूलगायत तीनै जनाको ढाड तथा गोडामा चोट लागि घाइते भएको र तीनै जनाको उपचार भदौ १८ गते बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा गरिएपछि अस्पतालले सोही दिन आफूहरूलाई डिस्चार्ज गरेको सचिव बडालले बताए ।


विमला पौडेल