प्रहरीको लाठी प्रहारबाट बालिकाको एउटा आँखा फूट्यो

  ०७४ माघ ८ गते

प्रहरीले चलाएको लाठीले बीरगञ्ज महानगरपालिका-१६ नगवास्थित भुटनदेवी माई मन्दिरका पुजारी भूषण पासवान दासकी १५ वर्षीया छोरी मुनी पासवान दासको देब्रे आँखामा गम्भीर चोट लागेको पीडित परिवारले जनाएको छ ।

 

माघ ७ गते बिहान इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाले चलाएको लाठी लागी गाईगोठ नजिकै काम गरिरहेकी मुनीको बायाँ आँखामा गम्भीर चोट लागि फुटेको उनका बावु भुषणले बताए ।

 

प्रहरी जवान झाले लाठी प्रहार गरे लगत्तै गम्भीर घाइते भएकी मुनीलाई अस्पताल पुर्‍याउनुको साटो घटनास्थलबाट फरार भएको भुषणले आरोप लगाए ।

 

छोरीलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याएकोमा उपचार हुन नसकेपछि परवानीपुरस्थित केडिया आँखा अस्पतालमा पुर्‍याइएको भुषणले बताए ।

 

जिल्ला प्रहरी कार्यालय पर्सा डिएसपी राजन लिम्बुले प्रहरी जवान झालाई आवश्यक कारबाहीको लागि जिल्ला कार्यालयमा झिकाएको बताए । उनले पीडित बालिकालाई प्रहरीले हिर्काउँछु भनेर नहानेको संयोगवश घटना हुन पुगेको बताए ।

 

मन्दिरमा गाँजा खानेहरूको भिड हुन थाल्यो भन्ने सूचनाका आधारमा दुई जना प्रहरी परिचालन भएको र मन्दिर परिसरमा त्यस्तो अवस्था देखिँदा लाठीले गाँजा खानेहरूलाई तर्साउन खोज्दा हातको लाठी उछिटिएर गोठमा काम गर्दै गरेकी भुटनदेवीलाई चोट लागेको डिएसपी लिम्बुले बताए ।

 

पीडित बालिकाको परवानीपुर आँखा अस्पतालमा अप्रेशन भएको र पीडित पक्षले उजुरी भने नदिएको उनले जानकारी दिए ।

 

प्रहरी जवान झाले घटना लगत्तै जिल्ला प्रहरी कार्यालयमा पुगी डिएसपी राजन लिम्बुसँग १० दिने विदा स्वीकृत गराई भाग्ने प्रयास गरेपनि इलका प्रहरी कार्यालय नगवाका हवल्दार रनबहादुर बलले भने उनलाई छुट्टी नदिएको बताए ।


केसी लामिछाने