प्रहरीको यातनाबाट बालकको मृत्यु प्रकरण:तीन सदस्यीय उच्च स्तरीय छानविन समिति गठन
गुठिचौर गाउँपालिका ३ गज्यांकोट १३ वर्षीय पदम बुढाको प्रहरी हिरासतमा यातनाबाट मृत्यु भएको विषयमा थप अनुसन्धान गर्न उच्च स्तरी छानविन समिति गठन गरिएको छ ।
गृहमन्त्रालयमा फागुन ८ गते बसेको मन्त्रीस्तरीय बैठकले अनुसन्धानका लागि गृहमन्त्रालयका उपसचिव अमरदीप सुुवारको नेतृत्वमा कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी माधव श्रेष्ठ, राष्ट्रिय प्रहरी अनुसन्धान कर्णाली प्रदेश कार्यालयका निर्देशक दिलबहादुर चौधरी गरी ३ सदस्यीय छानविन समिति गठन भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।
उहाँले भन्नुभयोे, ‘घटनाको सत्य बाहिर ल्याउन, पीडितलाई न्याय र दोषीलाई कारबाहीका लागि अनुसन्धान गर्न छानविन समिति गठन गरिएको हो । केहि दिनमै टोली जुम्ला पुग्ने छ ।’
केन्द्रीय छानविन टोलीले जुम्लामा करिब १५ दिन घटनाको खोज अनुसन्धान गर्ने प्रजिअ थापाको भनाई छ । साथै पीडित परिवारको राहतका लागि प्रदेशको कानुन मन्त्रालय र संघिय सरकारको गृहमन्त्रालयमा आबश्यक अनुरोध तथा पहल भइरहेको छ ।
१३ वर्षीय मृत्तक बालक पदम बुढालाई माघ १८ गते मोबाइल चोरीको आरोपमा घरबाटै जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा ल्याएको थियो । त्यस पश्चात शरिर सुनिएर फागुन ५ गते उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तले प्रहरीकै शारिरिक तथा मानसिक यातनाबाट मृत्यु भएको आरोप लगाएका छन् ।
यता प्रहरी प्रशासनले पनि प्रहरीले शारिरिक मानसिक यातना दिएको स्वीकार गरेको छ । फागुन ६ गते प्रशासन र पीडितका आफन्तबीच भएको वार्तापछि तत्काल छानविन समिति गठन गर्ने, पीडितलाई राहत उपलब्ध गराउन पहल गर्ने र दोषीलाई कारबाही गर्ने निर्णय भएपश्चात आफन्तले फागुन ८ गते शव बुझेर लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो ।
घटनाप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण
प्रहरीको कुटपीट तथा यातनाबाट बालक पदम बुढाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले फागुन ७ गते विज्ञप्ति जारी गर्दै घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पनि आग्रह गरेको छ ।
आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले घटनाको अनुगमन गरेको समेत गरेको छ । अनुगमन टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगी आइसियुमा राखिएको शवको अवलोकन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षकसँग घटनाको बारेमा जानकारी लिएको आयोगका मानव अधिकार अधिकृत धनराज शाहीले बताउनुभयो ।
मृतक बालक लगायत ७ जनालाई मोबाइल चोरीको आरोपमा प्रहरीले २०७७ माघ १८ गते पक्राउ गरेको र सोधपुछको क्रममा पाइपले कुटपिट गरी उनिहरूलाई त्यसै दिन छोडेको, कुटपिटका कारण बालक बुढाको बायाँ खुट्टाको पिँडौला र पाइतालामा नीलडाम परेको तथा खुट्टा सुन्निएको र उपचारकै क्रममा बुधबार मृत्यु भएको अनुगमनको क्रममा बुझिएको आयोगले जनाएको छ ।
बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ को नेपाल पक्षराष्ट्र भएकोले कुनै पनि बालबालिकालाई यातना दिइने वा अन्य क्रर र अमानवीय वा अपमानजनक व्यवहार वा सजाय दिन नहुने पनि आयोगले स्मरण गराएको छ ।
साथै आयोगले उक्त घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, आइसियुमा रहेको शव उपयुक्त स्थानमा व्यवस्थापन गर्न, विशेषज्ञ चिकित्सकबाट यथाशीघ्र शव परीक्षण गराउन तथा पीडित परिवारको संरक्षण र उचित क्षतिपूर्तिको व्यवस्था गर्न आयोग नेपाल सरकारलाई आग्रह गरेको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…