प्रहरीको यातनाका कारण मृत्यु भएको पीडित पक्षको आरोप

  ०७६ साउन २४ गते

बारबर्दिया नगरपालिका–९ कर्तनियाका ३८ वर्षीय भुपेन्द्र सोनाकार घिमिरेको प्रहरी हिरासतमा यातनाका कारण मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ ।

 

घरेलु हिंसाको अरोपमा साउन १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीले गिरफ्तार गरी यातना दिएका कारण भुपेन्द्रको साउन २२ गते मृत्यु भएको पीडित पक्षले आरोप लगाएको छ ।

 

घरेलु हिंसा भएका भन्दै मृतककी पत्नी ३२ वर्षीया एलिना सोनाकार घिमिरेले साउन १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा उजुरी दिएपछि सोही राति ११ बजे आरोपित भुपेन्द्रलाई गिरफ्तार गरिएको थियो ।

 

एलिनाले साउन १७ गते इलाका प्रहरी कार्यालय गएर ‘घरपरिवार भित्रको विवाद हो हामी मिल्छौँ’ भन्दै पति भुपेन्द्रसँग मिलेर बस्ने सहमति गरेपछि प्रहरीले उनलाई रिहा गरेको थियो  ।

 

घर पुगपछि भुपेन्द्रले आफूलालाई प्रहरीले कुटपिट गरेको बताएपछि लगाएको लुगा खोलेर हेर्दा शरीरमा निलडाम देखिएको एलिनाले बताइन् ।

 

कुटपिटबाट थलिएका भुपेन्द्रले स्थानीय औषधि पसलमा उपचार गराउनुको साथै औषधि किनेर खाएको एलिनाले बताइन् ।

 

भुपेन्द्रको स्वास्थ्य अवस्थामा सुधार नआएपछि साउन २२ गते उपचारका लागि नेपालगञ्ज लैजाँदै गरेको अवस्थामा बाटोमा मृत्यु भएको बारबर्दिया नपा–९ कर्तनियाका प्रकाश अधिकारीले बताए ।

 

पीडित परिवार र स्थानीयले भुपेन्द्रलाई प्रहरीले गिरफ्तार गरेर लैजाँदा सामान्य अवस्था रहेको र भोलिपल्ट हिरासतबाट फर्केर आउँदादेखि नै अस्वस्थ रहेको दावी गरेका छन् ।

 

पीडित पक्षले यातनाकै कारण उनको मृत्यु भएको दावी गर्दै शवको पोष्टमार्टम र यातना दिने प्रहरीलाई कानुनी कार्वाहीको माग गरेका छन् ।

 

शवको पोष्टमार्टम र दोषीलाई कारवाहीको माग गर्दै साउन २३ गते पीडित पक्षले कर्तनियास्थित महेन्द्र राजमार्गमा चक्का जाम गरेका थिए ।

 

प्रहरीले भुपेन्द्रको शवको स्थलगत मुचुल्का सर्जमिन गरेको छ । शवको पोष्टमार्टम साउन २३ गते जिल्ला अस्पताल गुलरियामा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी राजेशनाथ बास्तोलाले प्रहरी माथि आएको आरोपप्रति गम्भीर भएको र घटनामा संलग्न जो कोही भएपनि अनुसन्धान गरी दोषीमाथि कारवाही प्रक्रिया अघि बढाउने बताए ।

उनले प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको बताए ।  पीडित पक्षले हालसम्म कँहि उजुरी दिएका छैनन् ।


मानबहादुर चौधरी