प्रहरीले चलाएको गोली लागेर मालेका उम्मेदवार घाइते

  ०७४ वैशाख १७ गते

आगामी स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिका-११ मा नेकपा मालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार ५२ वर्षीय कृष्णबहादुर कुमाल प्रहरी तालिम केन्द्रका प्रहरीले वैशाख १७ गते दिउँसो २ बजे चलाएको गोली लागेर घाइते भएका छन् ।

गोली लागेर घाइते भएका पीडित कुमालको उपचार नारायणी सामुदायिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको कोखामा गोली लागेको प्रहरीले जनाएको  छ । जङ्गल नजिक चौतारामा बसिरहेका कुमाललाई गोली लागेको पीडितका आफन्त रञ्जित कुमालले बताए ।

भरतपुर महानगरपालिका-११ स्थित बसेनी तर्फको जङ्गलमा प्रहरीको तालिम चलिरहेको छ । भरतपुर महानगरपालिका ११ बसेनी फायरिङ रेञ्जमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको प्रहरी जवान आधारभूत तालिम प्रथम समूहको एसएलआर राइफलबाट फायरिङ् भइरहेको अवस्थामा भुतपूर्व प्रहरी सहायक निरीक्षक समेत रहेका मालेका उम्मेदवार कुमाललाई बायाँ कोखाको छालामा गोली लागी घाइते भएको प्रहरीले जनाएको छ ।

साथै घाइते कुमालको अवस्था खतरामुक्त रहेकोसमेत प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको चितवन एसपी दिपक थापाले बताए ।


दिपेन्द्र अधिकारी