प्रहरीको गोली लागेर कञ्चनपुरमा एकको मृत्यु, स्थानीय प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यू

  ०७५ भदौ ८
बलात्कारपछिहत्या गरिएकी १३ वर्षीया निर्मला पन्त घटनाका दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै भदौ ८ गते महेन्द्रनगरमा जारी प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गर्दा १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको छ।
आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तोडफोड गर्न लागेपछि गोली चलाउन बाध्य भएको र घटनामा कमिन्द्र सिंह, सुरेश चटौत, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कञ्चनपुरस्थित स्थानीय अस्पताल र केहीको धनगढीमा उपचार भइरहेको छ ।

Kanchanpur-Case

                                फोटो साभार : रासस 

प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कञ्चनपुर सदरमुकाममा साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

लगातारको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप बढ्न थालेपछि जिल्लाप्रशासन कार्यालय, कञ्चनपुरले भदौ ७ गते साँझ कर्फ्यु आदेश जारी गरेको थियो ।

सरकारले उच्च स्तरीय छानबिन टोली गठनगर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रबार बिहान साम्य भएको आन्दोलन शुक्रबार दिउँसोबाट पुन शुरू भएको थियो।


अनलाइन डेस्क