प्रहरीको गोली लागेर एक बालक घाइते

  ०७७ कात्तिक १३ गते

सुवर्ण गाउँपालिका–२ कवहीगोठ बजारमा रहेको इलाका प्रहरी कार्यालय अगाडि कात्तिक १२ गते साँझ ८ बजे स्थानीयसँग भएको झडपमा प्रहरीको गोली लागी सोही वडाका १४ वर्षीय रञ्जनकुमार यादव घाइते हुनुभएको छ ।

घाइते यादवको स्थानीय एसआरपी अस्पताल कवहीगोठमा प्राथमिक उपचार गरी टाउकोमा लागेको गोली झिकेर थप उपचार गर्नका लागि बयोधा अस्पताल बीरगंज लगेको डाक्टर जितेन्द्र यादवले बताउनु भयो ।

कात्तिक १३ गते बिहान ४ बजे बयोधा अस्पताल बीरगंजले शल्यक्रिया गरी टाउको भित्र रहेको गोली निकालेको तर घाइते बालक बेहोस अवस्थामै रहेकोे उपचारमा सहयोग गरिरहनु भएका सोही वडाका ३२ वर्षीय रामनिवास यादवले बताउनु भयो ।

आलु र प्याजको विषयमा सल्लाह भइरहेको समयमा स्थानीयले ढुङ्गा प्रहार गरेपछि एक दर्जन अश्रु ग्यास प्रहार गरी भिड नियन्त्रण गरेको इलाका प्रहरी कार्यालय कवहीगोठका सई वीरेन्द्र गिरीले बताउनु भयो ।

झडपमा परी आपूm तथा २५ वर्षीय प्रहरी जवान सुजित यादव र २८ वर्षीय प्रहरी हवल्दार सञ्जय यादवलाई ढुङगाले चोट लागेकाले स्थानीय एसआरपी अस्पतालमा उपचार गराएको उहाँले बताउनु भयो ।

सई गिरीको कमाण्डमा रहेको प्रहरीले गोली चलाएको घाइते बालकसँगै रहनु भएका ३२ वर्षीय रामनिवास यादवले बताउनु भयो ।

ज्यालादारी गरेर खाने परिवार भएकाले पीडितसँग उपचार गराउने खर्च नभएकाले स्थानीयसँग चन्दा उठाएर उपचार गराइरहेको सोही वडाका वडा अध्यक्ष रञ्जित यादवले बताउनु भयो । घाइते बालकको उपचारमा सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ ।

यसैगरी प्रहरीले चलाएको गोली लागी सुवर्णगाउँपालिका–२ का ४९ वर्षीय शिवनाथ यादवको दायाँ गोडामा गोली लागेको छ ।

त्यसैगरी प्रहरीले चलाएको गोलीको छर्रा र लाठी लागेरसोही ठाउँ निवासी ३६ वर्षीय धर्मवीर यादव घाइते हुनु भएको छ । घाइते सबैको उपचार कलैया अस्पतालमा भइरहेको छ ।


भोलानाथ पौडेल