प्रहरीको गोली प्रहारबाट घाइते भएका घिमिरेको उपचारका क्रममा मृत्यु

  ०७६ जेठ ८ गते

ट्याम्केमैयुम गाँउपालिका–१ स्थित मैयुमडाँडा मुनीको धोद्लेखानी जङ्गलमा जेठ ७ गते प्रहरीको गोली प्रहारबाट घाइते भएका तीर्थराज घिमिरेको उपचारका क्रममा जेठ ८ गते बिहान साढे तीन बजे मृत्यु भएको छ ।
उनी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता भएको र उनले प्रहरीमाथि नै हमला गर्न खोजेकाले गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीमाथि गोली चलाउने क्रममा प्रहरीको जबाफी कारवाहीमा तिघ्रामा गोली लागि घाइते भएका षडानन्द गाँउपालिका–२ कुदाककाउले घर भएका ३२ वर्षीय घिमिरेको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानमा ज्यान गएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुहहरी खतिवडाले बताए ।
भोजपुरको भैँसीपङ्खाको भिरको सडकमा ढुङ्गा झरेर बाटो अवरोध भएपछि घिमिरेलाई धरान पु¥याउन समस्या भएको प्रजिअ खतिवडाको भनाई छ ।
प्रजिअ खतिवडाले भने–‘घिमिरेको धरानमा उपचारको क्रममा मृत्यु भएको हो । घटना भएको स्थलबाट सडकसम्म बोकेर ल्याउन प्रहरीलाई पाँच घण्टा लाग्यो, त्यसपछि भैँसीपङ्खामा सडक अवरोध हुँदा हामीले च्याङ्ग्रेबाट एम्वुलेन्स मगाएर पठाएका थियौँ । पु¥याउन समय लागेको कारण धेरै रक्तश्राप हुँदा मृत्यु भएको हुन सक्छ ।’
घिमिरेको साथमा हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपिलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ ।
सो क्रममा कार्यकर्ताहरूले प्रहरीमाथि फायर खोलेको र जबाफी कारवाहीमा घिमिरेलाई गोली लागेको सिडिओ खतिवडाको भनाई छ ।
दर्जनौँको समूहमा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पाडण्व राजवंशीले बताए ।
जङ्गलमा बसी सर्वसाधारण जनतालाई त्रसित बनाएको सूचना पाएपछि प्रहरीले जङ्गलमा गस्ती गर्ने क्रममा प्रहरीमाथि सो पार्टीका कार्यकर्ताले गोली चलाएपछि जबाफी गोली चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डव राजवंशीले बताए ।
घटनास्थलबाट एक थान कटुवा पेस्तोल, पेस्तोलको गोली थान ५, लामो बाइनाकुलर थान १, डेटोनेटर थान ४, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद भएको प्रहरीले जनाएको छ ।


गणेश विष्ट