प्रहरीको कुटपिटबाट क्वारेण्टाइनमा बसेका ६ जना घाइते

  ०७७ असार २५ गते

बोदे बर्साइन नपा–५ स्थित चन्द्रा नमूना माविको क्वारेण्टाइनमा रहेका कोरोना सङ्क्रमित तीन जनासहित ६ जनालाई असार २३ गते राति प्रहरी जवान ३२ वर्षीय घनश्याम थापा मगर र ३० वर्षीय छविलाल बम्जनले कुटपिट गरी घाइते बनाएका छन् ।

घाइते हुनेहरूमा कोरोना सङ्क्रमित बोदे बर्साइन नपा–९ देउरीका ३० वर्षीय, ३८ वर्षीय दुई जना पुरुषहरू रहेका छन् भने बोदे बर्साइन नपा–७ का ३२ वर्षीय, सोही नपा–१० का ३४ वर्षीय र ३० वर्षीय पुरूषहरू रहेका छन् । घाइते उहाँहरूको बोदे बर्साइन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले क्वारेण्टाइनमै उपचार गरेको बोदे बर्साइन नगरपालिका स्वास्थ्य संयोजक बैद्यनाथ साहले जानकारी दिनु भयो ।

गर्मीका कारण विद्यालयको मूल ढोकामा बसिरहेका बेला प्रहरीले उहाँहरुलाई कुटपिट गरेको पीडितहरुको आरोप छ ।

एक घाइतेका अनुसार क्वारेण्टाइन अगाडि १५ जना बसिरहेका बेला प्रहरीले एक्कासी कुटपिट गरेको बताउनु भयो । अन्य नौ जना भागेर क्वारेण्टाइनभित्र गएको उहाँले बताउनु भयो ।

प्रहरीले कुटपिट गरेको विरोधमा असार २३ गते राति क्वारेण्टाइनमा रहेका व्यक्तिहरू आन्दोलित भएपछि घटनास्थल पुगेका मेयर आतेशकुमार सिंह समक्ष उहाँहरूले दोषीलाई कारवाही गर्न माग राखेका थिए ।

कुटपिट घटनामा संलग्न प्रहरी मगर र बम्जनलाई ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले केही घण्टा बोदे बर्साइनमै राखेर असार २३ गते राति कडरबोना ल्याइएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले बताउनु भयो ।

‘क्वारेण्टाइनमा रहेका व्यक्तिहरू बजारतिर हिँड्डुल गरिरहेको अवस्थामा देखिएपछि सम्झाउँदा प्रहरीलाई नै अपशब्द प्रयोग गरेकाले बल प्रयोग गरेको बुझियो’, इन्स्पेक्टर केशरीले भन्नु भयो–‘जे सुकै भएपनि सम्झाई बुझाई क्वारेण्टाइन फर्काउनु पर्नेमा अनावश्यक बल प्रयोग गरेकोले प्रहरी जवानहरूलाई स्पष्टिकरण सोध्ने तयारी भइरहेको छ ।’


मनोहरकुमार पोखरेल