प्रसूति सेवा र स्वास्थ्य केन्द्रहरु सञ्चालन नहुँदा सेवाग्राही समस्यामा

  ०७७ असोज ७ गते

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७५ / ०७६ देखि निर्माण गरेका प्रसूति सेवा तथा शहरी स्वास्थ्य केन्द्रहरु सञ्चालन नहुँदा आफूहरुले समस्या भोग्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामा प्रसूति सेवा केन्द्र र शहरी स्वास्थ्य केन्द्र सञ्चालनका लागि भौतिक संरचनाहरु निर्माणन गरेको भए पनि औषधी, उपकरण र स्वास्थ्यकर्मी नहुँदा यी संरचनाहरु सञ्चालनमा आउन नसकेको हो ।

भौतिक संरचनाहरु निर्माण भएको दुई वर्ष भइसक्दासमेत आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापन नगरेका कारण आफूहरुले सास्ती भोग्नु परेको सुत्केरी, गर्भवति तथा बिरामीहरुले गुनासो गरेका छन् ।

कोरोना महामारीका कारण उपचारका लागि बाहिर जाँनसमेत अप्ठ्यारो भइरहेको बेला गाउँमा बनेका प्रसूति सेवा र शहरी स्वास्थ्य केन्द्रहरु सञ्चालनमा नआउँदा गर्भवति, सुत्केरी, ज्येष्ठ नागरिकहरुलाई समस्या भएको सुर्नया गाउँपालिका–३ का करन चन्दले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँमा प्रसूती सेवा र स्वास्थ्य केन्द्रका भवन बनाएका छन्  । लामो समयदेखि प्रयोगमा ल्याइएको छैन। प्रयोगमा नआएपछि स्थानीय सेवाग्राहीले समस्या भोग्नु परेको छ ।’

यसैगरी पञ्चेश्वर गाउँपालिका–४ निङलाडस्थित सामुदायिक स्वास्थ्य इकाई पनि सञ्चालनमा ल्याइएको छैन् ।

स्थानीयहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पु‌र्‍याउने उद्देश्यले निर्माण गरिएका संरचनाहरु प्रयोगमा नआउँदा स्थानीयहरुलाई समस्या भएको पञ्चेश्वर गाउँपालिका–४ निङलाडका मोहन चन्दले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँमा सामुदायिक स्वास्थ्य इकाई बनेपनि सञ्चालनमा नआउँदा स्थानीय सेवाग्राहीहरुले टाढा गएर सेवा लिनु पर्ने बाध्यता छ ।’

प्रदेश सरकारले निर्माण गरेको सुर्नया गाउँपालिका–३ बिजुलस्थित प्रसूती सेवा केन्द्र कर्मचारी र आवश्यक उपकरणको अभावमा प्रयोगमा ल्याउन नसकेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘भवन मात्रै बनेको छ । आवश्यक उपकरण र कर्मचारीको अभावमा प्रसूती सेवा केन्द्र सञ्चालनमा ल्याउन सकेका छैनौँ ।’

आर्थिक वर्ष ०७५ / ०७६ मा प्रदेश सरकारको १२ देखि २० लाखको लागतमा पाटन नगरपालिका वडा नम्बर १ र वडा नम्बर ८ मा  निर्माण गरिएका शहरी स्वास्थ्य केन्द्र र प्रसूती सेवा केन्द्र सञ्चालन गर्न नसकिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘कर्मचारीको अभाव र उपकरण औजारको अभावमा स्वास्थ्य केन्द्र र प्रसूति सेवा केन्द्रहरु सञ्चालनमा ल्याउन सकिएको छैन् ।’

निङ्लाड सामुदायिक स्वास्थ्य इकाईमा शौचालय, खानेपानी, उपकरण र कर्मचारीकोसमेत अभाव हुँदा सञ्चालनमा आउन नसकेको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘प्रदेश सरकारको पैसाले बनेको हो । बनेको संरचना प्रयोगमा आएको छैन् । कर्मचारी र उपकरणको अभावले निर्माण गरिएका भवनहरु प्रयोग विहिन भएका छन् ।’

जिल्लाको पुर्चौंडी नगरपालिका–४ भटनामा बनेको प्रसूति सेवा केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन् । विभिन्न विवादका कारण सो भवन सञ्चालनमा आउन नसकेको भटना स्वास्थ्य चौकीका इन्चार्ज रोहित धानुकले बताउनु भयो ।

बैतडीमा आर्थिक वर्ष ०७५ / ०७६ मा १८ ओटा प्रसूति सेवा केन्द्र, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई बनेकोमा आधा जति प्रयोगमा आउन नसकेका स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गत आर्थिक वर्षमा चार ओटा संरचना निर्माण भएका छन् । भवनहरु १२ लाखदेखि २० लाखको लागतमा बनेका छन् । तर, प्रयोग विहिन अवस्थामा रहेका छन् । यसले स्थानीय सेवा ग्राहीहरुले समस्या भोग्नु परेको छ ।’


नरी बडु