प्रसूति सेवा नहुँदा सेवाग्राही मर्कामा

  ०७६ कात्तिक २१ गते

छायाँनाथ रारा नपा–९ मुर्मा गाउँको माझघट्टमा रहेको प्रसूति सेवा केन्द्रको सेवा सुचारू नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

सो गाउँका गर्भवती महिलालाई लक्षित गर्दै गाउँबाट १५ मिनेटको दुरीमा रहेको माझघट्टमा २०६१ सालमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको थियो । १५ वर्ष बितिसक्दा समेत सो केन्द्रबाट प्रसूति सेवा सुचारू नहँुदा सेवाग्राही मर्कामा परेका हुन् ।

हेल्पनेपाल नेटवर्क नामक संस्थाले सामान्य स्वास्थ्य सेवासँगै ०६१ सालबाट प्रसूति सेवापनि सञ्चालनमा गर्ने उद्देश्यले केन्द्रमा उपकरण पनि ल्याएको थियो ।

प्रसूति केन्द्रका लागि आवश्यक औजार तथा उपकरण सबै भएको भएपनि आवश्यक जनशक्तिको अभावले गर्दा सेवा सञ्चालनमा ल्याउन नसक्दा सेवाग्राही मर्कामा परेको सो स्वास्थ्य संस्थाका इञ्चार्ज कृष्ण रावल बताउँछन् ।

गाउँ नजिकै रहेको स्वास्थ्यचौकिको प्रसूति सेवा केन्द्रमा उपकरण भएपनि जनशक्ति अभावका कारण स्थानीय सेवाग्राही सेवा उपभोगबाट बञ्चित हुनु परेको छायाँनाथ रारा नपा–९ मुर्मा गाउँका ४१ वर्षीय डबल रोकाया बताउँछन् ।

जनशक्ति अभावका कारण गर्भवती महिलाहरूको नियमित चेकजाँच गर्नका लागि दुई घण्टा ओरालो हिँडेर जिल्ला अस्पताल पुग्नु पर्ने बाध्यता रहेको स्थानीय बिर्ख रोकायाले बताए ।

‘जाँदा ओरालो पर्छ । घर फर्किन तीन घण्टा उकालो हिँड्नुपर्छ । प्रसूति पीडामा रहेका महिलालाई रातबिरात रारा राष्ट्रिय निकुञ्जमा रहेको जङ्गलको बाटोबाट बोकेर जिल्ला अस्पताल सम्म पुर्‍याउनुपर्ने बाध्यता छ ।’–रोकायाले भने ।

गैरसरकारी संस्थाले प्रसूति केन्द्र स्थापना गरेर आवश्यक उपकरण पनि सहयोग गरेको १५ वर्ष बितिसक्दा पनि सरकारी निकायबाट आवश्यक पर्ने जनश्क्ति व्यवस्था नहुँदा प्रसूति सेवा सञ्चालनमा आउन नसकेको र सोको लाग नगरपालिकासँग अनुरोध गरिरहेको सो वडाका वडाअध्यक्ष मणिचन्द्र रोकायाले बताए ।

स्वास्थ्यकर्मीको समायोजन प्रक्रिया सकिए लगत्तै सो स्वास्थ्यचौकीमा आवश्यक पर्ने जनशक्ति पहलका लागि नगरपालिकाको कार्यपालिका बोर्ड बैठकमा प्रस्ताव राख्ने नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पशुराम नेपालीले बताए ।


जीवन सेजुवाल