प्रशासनले नागरिकता नदिएको भन्दै न्यायिक समितिमा उजुरी

  ०७६ जेठ २९ गते

मस्र्याङदी गाउँपालिका–२ बस्ने २५ वर्षीया ममता गुरुङलाई जिल्ला प्रशासन कार्यालय, लमजुङबाट नेपाली नागरिकताको प्रमाणपत्र नदिएको भन्दै पीडितले इन्सेककर्मीको समन्वयमा मर्स्याङ्दी गाउँपालिकामा रहेको न्यायिक समितिमा उजुरी दिएकी छन् ।

आमाको नामबाट नागरिकता लिनको लागि तीनपटकसम्म जिल्ला प्रशासन, कार्यालय धाउँदा समेत नेपाली नागरिकताको प्रमाणपत्र नपाएकोले जेठ २६ गते इन्सेक जिल्ला प्रतिनिधिलाई निवेदन दिएपछि उनले समन्वय गरेपछि गुरुङले जेठ २८ गते न्यायिक समितिमा उजुरी गरेकी हुन् ।

नागरिकताका लागि जेठ २२ गतेयता जिल्ला प्रशासन कार्यालय, धाउँदाधाउँदा नागरिकता नबनेपछि बाध्य भएर उजुरी दिनु परेको गुरुङले गुनासो गरिन् ।

ममताकी दिदी २७ वर्षीया टिना गुरुङले २०७५ फागुनमा आमाको नामबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।

दिदीले नागरिकता पाएको भएपनि आफू नागरिकता पाउनबाट वञ्चित भएको भन्दै पहल गरिदिन न्ययिक समितिमा उजुरी प्राप्त भएको मस्र्याङदी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक होमबहादुर बिकले बताए ।

बिकले सो उजुरीका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नागरिकता सिफारिसका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बाबुको नाम नखुलेकोले नागरिकता दिन नमिलेको भनाई राखे ।

‘बाबुको पहिचान हुन नसकेको’ भनी मुचुल्काको प्रमाण ल्याउन सकेमात्र नेपाली नागरिकताको प्रमाणपत्र दिने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ ।

नेपालको संविधान अनुसार वडाको मुचुल्का भएर कागजपत्र पूर्ण भएपछि नागरिकता प्रमाणपत्र प्रदान गर्न सकिने प्रावधान रहेको जिल्ला बार एकाइ लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए ।

मस्र्याङदी गाउँपालिका–२ का वडाअध्यक्ष शङ्कर गुरुङले ममताकी दिदी टिनाको यहि प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र तत्कालीन प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले दिएको भएपनि अहिले नागरिकताका लागि बहानाबाजी गरिनुले दुःख लागेको बताए ।

ममताकी ५२ वर्षीया आमा कल्पना गुरुङले नागरिकता बनाएर लोक सेवा आयोगको फर्म भर्ने छोरीको इच्छा पूरा नहुँदा दुखी भएको बताइन् ।

नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत धारा १० मा नागरिकता सम्बन्धी हकमा कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने भनी उल्लेख छ ।

त्यस्तै धारा ११ मा कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने सो व्यक्ति स्वतः वंशजको आधारमा नेपाली नागरिक ठहर्ने भनि उल्लेख गरिएको छ


दलबहादुर मजाकोटी