सम्भावित खतरा टार्न प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

  ०७५ माघ २२ गते

पुर्वी रूकुममा सदरमुकाम सार्ने विषयमा विवाद बढेपछि सम्भावित खतरा टार्न जिल्ला प्रशासन कार्यालयले माघ २१ गतेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

हाल सदरमुकाम रहेको सिस्ने गाँउपालिकाको रुकुमकोटबाट पुथाउत्तरगङ्गा गाउँपालिकाको गोल्खाडामा सदरमुकाम सार्ने निर्णय कार्यान्वयनको माग गर्दै स्थानीयले आन्दोलन घोषणा गरेपछि सदरमुकामको चार किल्लामा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सिस्ने गाउँपालिका–५ का धौलापहिरा, पश्चिममा रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ को रुकुमगाडा हुँदै धाउनेको पानीघट्टसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को रुमालाबारा हुँदै शहीद पार्कसम्म कर्फ्यु लगाइएको छ ।

रूकुम पुर्वमा रुकुमकोट र गोल्खाडावासी बिच माघ १९ र २० गते  भएको छलफलमा दुई पक्षले आ–आफ्नो स्थानमा सदरमुकाम हुनुपर्ने दावी नछाडेपछि झडपको स्थिति आएको थियो ।

गोल्खाडावासीले माघ १८ गते गरेको पत्रकार सम्मेलनमा सदरमुकाम गोल्खाडामा उपयुक्त हुने अभिव्यक्ति दिएको भन्दै रुकुमकोट सदरमुकामका पक्षमा रहेकाहरूले माघ १९ गते नेकपाका जिल्ला अध्यक्ष सतमान पुन र पूर्व सहकारी मन्त्री केशरमान रोकायालगायत चार जनामाथि आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका रोकाया र पुनलाई उपचारका लागि माघ २० गते काठमाडौँ लगिएको छ ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज