प्रशासकीय अधिकृतको अभावमा योजनाहरू अलपत्र, नागरिक सेवाबाट बञ्चित

  ०७६ फागुन ३० गते

पोखरिया नगरपालिकामा प्रशासकीय अधिकृतको अभावका कारण योजनाहरू अलपत्र पर्नुका साथै नगरपालिकाबाट नागरिकहरूले पाउनु पर्ने सेवाबाट बञ्चित भएका छन् ।

०७६ मङ्सीर ८ गते पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मीको सरुवा भयो । २ महिना पछि माघमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सहदेव राय माझीलाई पोखरिया नगरपालिकामा पठायो । तर, सरुवा भएको २५ दिन पछि अधिकृत हाजिर भएर पाँच दिन बसेर ४८ दिने सेवा तालिममा भाग लिन जानु भएको छ । यस्तै समस्याहरूका कारण पोखरिया नगरपालिका प्रशासकीय अधिकृत बिहीन भएको छ ।

३९ हजार जनसङ्ख्या भएको पोखरिया नगरपालिकामा एक प्रशासकीय अधिकृतको अभावमा राज्यबिहीनताको अनुभव गर्न बाध्य भएको गुनासो छ । पोखरिया नगरपालिकाका प्रमुख दीप नारायण रौनीयारले औषधी खरिद नभएको बताउनु भयो । उहाँले टेण्डर मार्फत औषधी खरिद गर्ने निर्णय भएको तर प्रमुख प्रशासकीय अधिकृतको अभावमा सम्पूर्ण काम नै ठप्प भएको बताउनु भयो । उहाँले संघीय मन्त्रालयले पोखरिया नगरपालिकामा प्रमुख प्रशाकीय अधिकृत पठाउन सुरुदेखि नै चासो नदेखाएको भन्दै आक्रोस ब्यक्त गर्नु भयो ।

फागुन ५ गते उपभोक्ता समिति र ठेकेदारले पोखरिया नगरपालिकामा तालाबन्दी गरेका थिए । ताला खोल्नका लागि नगरपालिकाले वार्ता ग¥यो र भूक्तानी दिन बाँकी ३ करोड फागुन १३ गतेसम्म दिने सहमती पछि ताला खुल्यो तर भूक्तानी अझै पनि भएको छैन ।

पोखरिया नगरपालिकाले गत वर्षकै भुक्तानी दिन ढिलाई गरेको भन्दै विभिन्न उपभोक्ता समिति र ठेकेदारले फागुन २६ गते पोखरिया नगरपालिकाको कार्यालयमा पुनः तालाबन्दी गरेका छन् ।

पोखरिया नगरपालिकामा रहेका ६ ओटा स्वास्थ्य संस्था र पोखरिया अस्पतालबाट निःशुल्क बितरण हुने औषधी यो वर्षमा खरिद नै भएको छैन । राज्यले नागरिकको स्वास्थ्यलाई नेपालको संविधानमै मौलिक हकको रुपमा व्यवस्था गरेको छ । कुनै पनि नागरिक आधारभूत स्वास्थ्य उपचारको अभावमा रहनु पर्ने छैन भन्ने संवैधानिक व्यवस्था अनुरुप नागरिकहरू आफुले पाउनु पर्ने अधिकारबाट बञ्चित हुनु परेको छ ।

प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाका कर्मचारीरूले तलब समेत खान पाएका छैनन् ।

प्रमुख प्रशासकीय अधिकृत नआएको अवस्थामा पोखरिया नगरपालिकाका योजना तथा कार्यक्रममा ढिलाइ हुनुका साथै भुक्तानीमा समस्या भई ३९ हजार नागरिक सेवालाभबाट बञ्चित हुन पुगेका छन् । नगरपालिकाले उधारोमा इन्धन नपाउने, बिजुलीका सामान नपाउने अवस्था आएको एक कर्मचारीले बताउनु भएको छ । गत वर्षको भूक्तानी भएको छैन यो वर्ष एउटा पनि योजना कार्यान्वयन भएको छैन । प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण हिउँदे नगरसभा समेत भएको छैन ।


केसी लामिछाने