प्रवलिकरणमा परेका ७ सय ४४ पीडितको पुनरावेदन

  ०७५ चैत ४ गते

ढुङ्गामाटोको घर मर्मत गरेरर बस्न नसक्ने भन्दै प्रवलिकरण सूचीमा समावेश भएकामध्ये ७ सय ४४ ले जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालयमा पुनरावेदन गरेका छन् ।

जिल्लामा ५ हजार ३ सय १० घर प्रवलिकरण सूचीमा समावेश छन् । तिमध्ये हालसम्म १ हजार २ सय ४७ ले पहिलो किस्ताको ५० हजार रुपियाँ अनुदान बुझेकोमा हालसम्म दुइ जनाको मात्र दोस्रो किस्ताको रकम सिफारिस भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालयका इञ्जिनियर शैलेन्द्र भट्टले बताए ।

पुनरावेदन गरेकामध्ये ३६ जनाको नाम भने पुनर्निर्माण लाभग्राहीकै सूचीमा समावेश भएको छ । अन्यको भने छानविनको प्रक्रियामै रहेको भट्टले जानकारी दिए ।

त्यसैगरी ५ हजार ३ सय १० भूकम्प पीडितका घर १ लाख रुपियाँ अनुदान पाउने गरी प्रवलिकरणको सूचीमा परेका थिए । ३ हजार ५ सय ९४ घर पीडित गैर लाभग्राही सूचीमा रहेको कार्यालयले जनाएको थियो ।

कार्यालयका अनुसार जिल्लाका ८ सय १० पीडित परिवारको घर अन्यत्र घर भएको पाइएएको थियो । गैर लाभग्राही तथा अन्यत्र घर हुने पीडितले अनुदान नपाउने जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालयले जनाएको छ ।

२ हजार १ सय ४९ पीडितको भने हालसम्म पनि गुनासो सम्बोधनको प्रक्रियामै रहेको इञ्जिनियर भट्ट बताउँछन् ।

भूकम्प केन्द्रबिन्दु गोरखा जिल्लामा ४७ हजार ६ सय १ घर पुनर्निर्माण सकिएको छ । जिल्लाका ७० हजार ९ सय ८८ घर बनाउने लाभग्राही सूचीमा समावेश छन् ।

६५ हजार ६ सय ७८ घर पुनर्निर्माण, ५ हजार ३ सय १० घर प्रवलिकरण सूचीमा समावेश भएका थिए ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालयका अनुसार जिल्लाका ६४ हजार ४ सय ५५ लाभाग्राहीको खातामा पहिलो किस्ताको रकम निकासा भएकोमा ५७ हजार १ सय ७७ ले दोस्रो किस्ताको अनुदान रकम लगेका छन् ।

अनुदान सम्झौता गर्द पहिलो किस्ताको ५० हजार, जग निर्माण सकेपछि दोस्रो किस्ताको १ लाख ५० हार र घर निर्माण सम्पन्न भएपछि अन्तिम किस्ताको १ लाख रुपियाँ पाउने प्रावधान छ ।


हरिराम उप्रेती