प्रलोभन देखाएर भारततर्फ लैँजादै गरेका ४६ जना युवा युवतीहरूको उद्दार

  ०७६ साउन २२ गते

प्रलोभन देखाएर भारततर्फलैजाँदै गरेको अवस्थामा दाङ, कैलाली र सल्यान जिल्लाका ४६ जना युवायुवतीहरूलाई साउन २० गते इलाका प्रहरी कार्यालय जमुनाहले उद्दार गरेको छ ।

भारतको चेन्नईमा रहेको ओरियन्स कम्पनीमा नेटवर्किङ बिजनेशमा काममा लगाई दिने भन्दै भारततर्फलैजाँदै गरेको अवस्थामा प्रहरीले कैलाली जिल्लाका ३०, दाङ जिल्लाका ११ र सल्यान जिल्लाका पाँच जना गरी १४ जना युवा र ३२ जना युवतीहरूलाई उद्दार गरी साउन २१ गते आफन्तको जिम्मा लगाइएको एसपी विरबहादुर वलीले बताए ।

प्रहरीका अनुसार उद्दार गरिएका युवा युवतीहरू २० वर्षमुनीका रहेका र उनीहरूबाट रकमसमेत असुलेको पीडित पक्षले जनाएको छ ।

प्रहरीले उक्त कार्यमा संलग्न रहेको आरोपमा कैलाली जिल्ला जानकी गाउँपालिकाका २० वर्षीय छत्र बम र दाङ जिल्लाका १९ वर्षीय रोमन रिजाललाई साउन २१ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जनाएको छ ।

आरोपितहरूले व्यवसायका लागि भन्दै उनीहरूबाट पैसा उठाएको र ओसारपसार तथा बेचबिखनमा मुद्दा दर्ता गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।


स्मृति देवकोटा