प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

  ०७६ पुस ४ गते

आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत २८ वर्षीय रामबहादुर केसीमाथि सोही नपा–३ स्यालाखदीका २४ वर्षीय गोपाल बिकले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

आठबिसकोट–३ का वडाध्यक्ष २९ वर्षीय केशरमान बिकको निर्देशनमा बिकका भाइ गोपाल बिकले पुस २ गते कार्यालयबाट कोठामा फर्कने क्रममा आफूमाथि आक्रमण गरेको पीडित केसीले बताउनुभयो ।

गत आर्थिक वर्षमा वडाध्यक्षको नाममा सडक निर्माणको करिब २३ लाख रकम बेरुजू आएको र त्यसलाई असुल उपर गर्न आफू सक्रिय भएकाले त्यसैको रिसइबीका कारण आक्रमण भएको अधिकृत केसीले आरोप लगाउनुभयो ।

धारिलो हतियारले आक्रमण गर्दा केसीको टाउकोमा चोट लागेपछि पुस २ गते राती नै आठविसकोट नगर अस्पतालमा उपचार गरिएको पीडित पक्षले जनाएको छ ।

घटनामा संलग्न आरोपित गोपाल बिक फरार रहेका कारण खोजी कार्य जारी रहेको र आरोपितका दाइ वडाध्यक्ष केशरमानलाई भने पुस २ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताउनुभयो ।

आक्रमणबाट प्रमुख प्रशासकीय अधिकृत केसीसँग कोठा फर्कँदै गरेका नगरपालिकाका सूचना प्रविधि अधिकृत २५ वर्षीय गणेश चन्दलाई पनि टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

नगरपालिकाकी उपप्रमुख गीता नेपालीले पुस ३ गते विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै घटनाका दोषी उपर कारबाहीको माग गर्नुभएको छ ।

साथै दोषीमाथि कारबाही नभएसम्मका लागि पुस ३ गतेदेखि नगरपालिकाका कुनै पनि काम नगर्ने विज्ञप्तिमा उल्लेख छ ।

Photo20191220Rukum West01


मनिषा केसी