प्रमुख निर्वाचन आयुक्त यादवको निवासमा बम विष्फोट

  ०७५ वैशाख १० गते

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको ललितपुर मनपा-२३ हात्तिवन स्थित निवासमा वैशाख ९ गते बम विष्फोट भएको छ ।

निवासको बाहिरी कम्पाउण्डमा राखिएको तीन वटा बममध्ये एउटा बम विष्फोट भएको प्रमुख निर्वाचन आयुक्तका ज्वाइँ श्याम यादवले बताए ।

अन्य दुई वटा बम सुरक्षाकर्मीले डिस्पोज गरेको उनले बताए । विष्फोटबाट 'कम्पाउण्ड वाल'मा क्षति पुगेको छ भने घरको झ्यालको सिसा फुटेको छ । बम विष्फोटपछि निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्तसँग अन्तर्वाता लिने भन्दै दुई जना व्यक्ति वैशाख ७ गते निवासमा आएको र प्रमुख निर्वाचन आयुक्त नभएको बताइएपछि उनीहरू फर्केका थिए । तर, कसले र किन विष्फोट गराएको हो ? परिवारमा कसैलाई थाहा नभएको यादवले जानकारी दिए ।

विष्फोटबाट घरको झ्याल तथा गेटको सिसा फुटेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका असई शिव काफ्लेले बताए । घटनामा सङ्लग्नको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


इन्सेक कार्यालय, काठमाडौँ