प्रमुख निर्वाचन आयुक्तद्वारा आचारसंहिता पालनामा जोड 

  ०७३ मङ्सिर १३ गते

निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि राजनीतिक दलका नेता तथा कार्यकर्ता र आम मतदाताले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

सिरहामा मङ्सिर १२ गते निर्वाचन आयोगले आयोजना गरेको 'राजनीतिक दललगायतका सरोकारवालाहरूसँग निर्वाचनसम्बन्धी विविध विषयमा अन्तरक्रिया" कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त यादवले सो कुरामा जोड दिएका हुन् ।

डा. यादवले निर्वाचन आचारसंहिता-०७२ अनुसारका व्यवस्था सबै दलहरूले पालना गरे निर्वाचन स्वतन्त्र र निश्पक्ष हुने विश्वास दिलाए ।

विगतका निर्वाचनहरूमा दलहरूले आचारसंहिता पालना नगर्ने तर आयोगलाई दोष लगाउने गरेको बताउँदै उनले संविधान र कानुनले दिएको अधिकार अनुसार आफूहरू काममा जुटेको बताए ।

निर्वाचनको विकल्प नभएको र अबको दिनमा दलहरू निर्वाचनबाट भाग्न नसक्ने भएकोले दलहरूलाई आपसी समझदारी गरेर निर्वाचनको लागि तयार रहनसमेत उनले आग्रह गरेका छन् ।


दुर्गा परियार