प्रभावकारी बन्दै छोरीबुहारी छात्रवृत्ति कार्यक्रम

  ०७६ फागुन २७ गते

प्राविधिक शिक्षामा कर्णाली प्रदेशका महिलाहरूको पहुँच बढाउन कर्णाली प्रदेश सरकारले अघि सारेको छोरीबुहारी छात्रवृत्ति कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

आर्थिक वर्ष ०७५/०७६ देखि अघि सारेको सो कार्यक्रम अन्तरगत पहिलो वर्षमा १ सय ५० जना छोरीबुहारीले छात्रवृत्तिबाट प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् ।

प्राविधिक शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्न नर्सिङ्ग, ल्याब टेक्निसियन, एचए, बाली विज्ञान, बागबानी, रेडियोलोजिष्ट, इन्जिनियरिङ्ग र कम्प्यूटर विज्ञानमा डिप्लोमासम्म अध्ययन गर्नका लागि प्रदेश सरकारले अघि सारेको छात्रवृत्ति कार्यक्रम अन्तरगत गत आर्थिक वर्षमा १ सय ५० जनालाई सो छात्रवृत्ति प्रदान गरिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो ।

छोरीबुहारी छात्रवृत्ति कार्यक्रममा यस प्रदेशका महिलाहरूको उल्लेख्य सहभागिता बढदै गएकोले चालु आर्थिक वर्षमा थप १ सय छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गरिन लागेको मन्त्री रावलले जानकारी दिनुभयो । मन्त्री रावलका अनुसार छोरीबुहारी कार्यक्रम अन्तरगत प्रदेश सरकारले २ करोड ३० लाख ३६ हजार १ सय रुपियाँ बजेट विनियोजन गरेको छ ।

प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउनुको साथै कर्णाली प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुरुप अघि सारेको कार्यक्रम प्रभावकारी बन्दै गएको र छात्रवृत्ति कार्यक्रम अन्तरगत एक जनालाई ६६ हजारदेखि १ लाख ३० हजार रुपियाँसम्म छात्रवृत्ति उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामुदायिक विद्यालयबाट एसएलसी उतिर्ण गरेको तथा अनाथ असहायको हकमा निजी शैक्षिक संस्थाबाट एसएलसी उतिर्ण गरेका छोरीबुहारीलाई सो छात्रवृत्ति कार्यक्रममा सामाजिक विकास मन्त्रालयले समावेश गर्दै आएको छ ।

 


दुर्गा थापा