प्रधानाध्यापक नियुक्ति विवादमा विद्यालय एक सातादेखि बन्द, शिक्षाबाट बालबालिका वञ्चित

  ०७६ असार ५ गते

प्रधानाध्यापक नियुक्तिमा विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबीच विवाद चुलिँदा जहदा गाउँपालिका-८ स्थित आर्दश आधारभूत विद्यालय जेठ २५ गतेयता बन्द छ ।

विद्यालय व्यवस्थापन समितिले गाउँपालिकाले गरेको प्रअ नियुक्ति अमान्य भएको भन्दै जेठ २५ गते विद्यालयमा तालाबन्दी गरेपछि एक सातादेखि सो विद्यालयमा अध्ययनरत २ सय ५० जनाभन्दा बढी अल्पसङ्ख्यक आदीवासी जनजाति समुदायका बालबालिका पढाईबाट वञ्चित भएका छन् ।

विद्यालयका तत्कालीन प्रअ शिक्षक सेवा आयोगमा अनुत्तीर्ण भए पश्चात स्वतः अवकाश भएपछि नयाँ प्रअका रूपमा व्यवस्थापन समितिले राहत शिक्षक मुंगा हेम्ब्रमलाई ०७५ चैत १० गते प्रअ नियुक्ति गर्ने निर्णय गरेको थियो ।

व्यवस्थापन समितिले प्रअ नियुक्ति गरेको विषयमा असहमति जनाउँदै गाउँपालिकाले विद्यालयमा कार्यरत स्थायी शिक्षक अशोककुमार साहलाई जेठ १६ गते प्रअ नियुक्ति गरेर पठाएपछि दुवै पक्षबीच विवाद चुलिँदा बालबालिका भने पढ्न पाउने अधिकारबाट वञ्चित भएका हुन् ।

गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिको अधिकार मिची प्रअ नियुक्ति गरेको आरोपमा व्यवस्थापन समितिका अध्यक्ष गोवर्धन शाहले विद्यालयमा तालाबन्दी गरेपछि समस्या भएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूसँग छलफल भइरहेकाले तत्काल समस्या समाधान गरेर विद्यालयको पठनपाठन सुचारू गर्ने बताए ।


ईन्दिरा भट्टराई