प्रदेश ५ मा डेङ्गुको प्रकोप, एक जनाको ज्यान गयो, जनमासमा त्रास

  ०७६ भदौं २५ गते

गुल्मी दरवार गाउँपालिका-६ का ३४ वर्षीय डोलबहादुर कार्कीलाई अचानक ज्वारो आउने, रिङ्गटा लाग्ने, जिउ, हाड तथा जोर्नीहरू दुख्ने, आँखाका गेडीहरू खस्ने गरी दुख्ने समस्या भएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सीमा भर्ना भए । चेक जाँचको क्रममा उनलाई डेङ्गु देखियो । अहिले उनी इमरजेन्सीमा उपचार गराइरहेका छन् ।

बुटवल उमनपा-१४ वेलबोरियाका १९ वर्षीय सन्दिप अधिकारी पनि कडा ज्वारो आउने शरीर दुख्ने समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भए । उनलाई पनि डेङ्गुको सङ्क्रमण देखिएको छ । अहिले उनको उपचार भइरहेको छ ।

Photo20190911Rupandehi (1)

उनी जस्तै बुटवल उमनपा-११ का मुकेश जिसी पनि चार दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको इमरजेन्सीमा उपचार गराइरहेका छन् । मुकेश भन्छन्-'अस्पताल आउँदा मेरो शरीरमा प्लेटलेसको मात्रा अत्यन्तै कम २२ हजार मात्रै थियो । म साह्रै कमजोर भएको थिएँ । आज चार दिन भयो । अहिले बढेर १ लाख ३० हजार पुगेको छ । धेरै सुधार भएको छ ।'

कार्की अधिकारी र जिसी मात्र होइन डेङ्गुको सङ्क्रमणका कारण उपचारमा आउनेको सङ्ख्या लुम्बिनी प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्दै गएको छ ।

Photo20190911Rupandehi (2)

प्रदेश ५ का सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुदर्शन बरालले प्रदेश ५ मा भदौ २४ गतेसम्म १ सय २६ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको बताए ।

तिनीहरूमध्ये ६५ जना पूर्ण उपचारपछि घर फर्केको, ६१ जनाले उपचार लिइरहेको र एक जनाको मृत्यु भएको मन्त्री बरालले बताए ।

मन्त्री बरालले भने-'डेङ्गुको किटको अभावको कुरो आयो त्यो सत्य हो । तर ज्वरो आउने बित्तिकै डेङ्गु किट नै प्रमुख हो भन्ने जुन हाम्रो बुझाई छ त्यो गलत हो । डेङ्गु देखिने बित्तिकै डेङ्गु किट चाहिन्छ भन्ने होइन ।'

Photo20190911Rupandehi (3)

बिरामीको शरीरमा सेता रक्तकोष र प्लेटलेसको मात्रा घटेर १ लाख भन्दा कम भएमा मात्र किटको प्रयोग गर्ने उनको भनाई छ ।

'डेङ्गुको कुनै उपचार छैन । यो भाइरल हो । आफैँ निको हुन्छ । यसमा सहायतात्मक उपचार मात्र गरिन्छ । यसका लागि प्लेटलेस बढाउने खालका झोलिला पदार्थहरूको बढी सेवनमा जोड दिनु आवश्इक हुन्छ ।'-उनले भने ।

लुम्बिनी प्रदेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद खनालले डेङ्गुको सङ्क्रमण दिनदिनै बढ्दै गएकाले लामखुट्टेको टोकाइबाट बच्न सबैलाई आग्रह गरे ।

Photo20190911Rupandehi (4)

उनले भने-'उपचारका लागि अस्पतालले कुनै पनि कसर बाँकी राख्दैन ।  बुटवलमै सहज रूपमा उपचार गरिने भएकोले आत्तिनु पर्दैन ।'

बुटवल क्षेत्रमा डेङ्गु रोग सार्ने लामखुट्टे पाइएकाले यसको रोकथामका लागि सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूलाई उनले आग्रह गरेका छन् ।

मेसु खनालले डेङ्गु रोग सङ्क्रमित लामखुट्टे बढीमा ३० दिनसम्म मात्रै बाँच्ने भएकाले यसको प्रजनन् क्रियालाई नियन्त्रण गर्नु नै उपयुक्त उपाय भएको बताउँछन् ।

उनले दैनिक रूपमा ५ देखि १० जनासम्म डेङ्गु सङ्क्रमित आउने गरेको र यो वर्ष साउन ३२ गतेदेखि डेङ्गु सङ्क्रमण भेटिएको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्रप्रसाद गिरीका अनुसार जिल्लामा ९० जना डेङ्गु रोगका बिरामीहरू रहेकामा  ७० जना उपचारपछि पूर्ण निको भएर घर फर्केका र २० जनाले उपचार लिइरहेका छन् ।

रूपन्देहीमा आर्थिक वर्ष २०६७/०६८ देखि डेङ्गु सङ्क्रमण देखिएको हो । सुरूको वर्षमा रूपन्देहीमा २ सय ९० जनामा डेङ्गु सङ्क्रमण भेटिएको थियो । जसमा चार जनाको मृत्यू नै भएको थियो ।

प्रत्येक वर्ष रूपन्देहीमा डेङ्गुको सङ्क्रमण भेटिएको छ । एडिस एजिप्र्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु नियन्त्रणमा सर्वसाधरणले लापरवाही गर्दा यसको लार्भा हुर्किरहेको सरोकारवालाहरू बताउँछन् ।

लुम्बिनी प्रदेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकका अनुसार सामान्यतया स्वस्थ्य मानिसमा १ लाख ५० हजारदेखि ४ लाख ५० हजारसम्म प्लेटलेस हुनुपर्छ ।

तर, डेङ्गु रोगको सङ्क्रमण भएकाहरूमा प्लेटलेसको सङ्ख्या हृवात्त्तै घट्छ । डा. पाठक भन्छन्-'डेङ्गुको सङ्क्रमण एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने र सफा पानी जम्मा हुने ठाउँहरूमा बस्ने भएकाले यस्ता ठाउँहरूको खोजी गरेर नष्ट गर्नुपर्छ । यस्तो लामखुट्टेले बिहान र साँझमा टोक्ने गर्दछ ।'


रीमा बि.सी.