प्रदेश २ को समसामयिक मानव अधिकार अवस्था विषयक कार्यक्रम सम्पन्न

  ०७७ साउन १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा साउन १७ गते प्रदेश २ को समसामयिक मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ ।

photo20200802dhanusha (1)

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानको अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का निर्देशक बीरबहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा आयोजित मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा मानव अधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का निर्देशक मगरले देशभर कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढि रहेको बेलामा आइसोलेशन र क्वारेण्टाइनहरूमा स्वास्थ्य सेवाका सवालमा सरकार सचेत हुन जरूरी रहेको बताउनु भयो ।

अहिले लकडाउन खोलेसँगै हाट बजारदेखि गाउँ घरहरूमासमेत मास्क लगाउनुपर्ने आवश्यकता रहेको विषयमा अझै जनजागरण गरिनुपर्ने उहाँले बताउनु भयो ।

photo20200802dhanusha (2)

कोरोना सङ्क्रमितहरूले आइसोलेशनमा गुणस्तरिय उपचार नपाएर धनुषामै मृत्यु भएका केही घटनाहरूसमेत आएकाले जनताको स्वास्थ्य सेवाप्रति तीनै तहका सरकार सचेत हुनुपर्ने उहाँले बताउनु भयो ।

मानव अधिकार रक्षकको सुरक्षा र उनीहरूको समस्या सिघ्र आयोगमा जानकारी गराए अधिकतम् महत्व दिएर त्यस समस्या समाधान गर्न आयोग तत्पर रहेको निर्देशक मगरले बताउनु भयो ।

कार्यक्रममा नेपाल वार एशोसिएशन जनकपुरधामका अध्यक्ष रामनेक साहले अहिले बन्दाबन्दीको समयमा जनताले पाउनुपर्ने स्वास्थ्य सेवाको साथै पाउनुपर्ने न्यायको सवालमासमेत समस्या भएको बताउनु भयो ।

लकडाउनको समयमा न्याय नपाएर र समयमा उपचार नपाएर मृत्यु भइरहेकाले हामी मानव अधिकारको क्षेत्रमा काम गर्ने सङ्घ–संस्थाहरूले समेत निगरानी गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

photo20200802dhanusha (4)

कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक पासवानले लकडाउनको समयावधि २०७६ चैत ११ गतेदेखि २०७७ असार १० गतेसम्म प्रदेश २ मा २४ ओटा बलात्कारका घटना भएको बताउनु भयो । बन्दाबन्दीको समयमा नौ जना महिलामाथि बलात्कार प्रयासको घटना, एक जना यौन दुव्र्यवहार र १८ ओटा घरेलु हिंसाका घटनामा पीडित भएको बताउनु भयो ।

लकडाउनको तीन महिनामा देशभरिमा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८ सय ४१ जना महिलासहित १ हजार ५५ जना गरी कुल १ हजार १ सय १९ जना मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएको तथ्याङ्क उहाँले प्रस्तुत गर्नु भयो ।

बन्दाबन्दीको समयमा ४ सय ७६ जना महिलामाथि ज्यादती भएका छन् भने २ सय ८४ जना बालबालिकामाथि ज्यादती भएको तथ्याङ्कमा उल्लेख छ ।

photo20200802dhanusha (3)

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ प्रदेश २ का संयोजक धिरेन्द्रबहादुर सिंहले लकडाउनले गर्दा देशमा गरिब, मजदुर र व्यापारीहरू बढी मार्कामा परेकाले गरिब असहायहरूलाई आर्थिक रूपमा समस्या पर्नुको साथै खाद्यान्न अभाव भएको बताउनु भयो ।

सर्वसाधारण जनताले कोरोना भाइरसको जाँच गर्न पीसीआर परीक्षण गराउने अवस्था नरहेकाले सरकारले परीक्षणको दायरा बढाउनु पर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा एड्भोकेसी फोरम नेपाल प्रदेश २ संयोजक राजकुमार महासेठले कोरोनाको नाममा कोरोना नियन्त्रणको लागि तीनै तहका सरकारले करोडौ रकम खर्च गरेको भएपनि जनस्तरमा भने सोही अनुसारको काम नभएको सर्वसाधारण जनताको गुनासो रहेको बताउनु भयो ।

नेपाल मानव अधिकार सङ्गठन धनुषा अध्यक्ष मनोज दनुवारले कोरोना सङ्क्रमण रोकथाम सम्बन्धी सचेतनाको अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताउनु भयो ।

मानवअधिकारकर्मी यस्तो कोरोनाको कहरमा आफू पनि जोगिएर समाजिक सचेतना तथा पीडितको न्यायका लागि पैरवी गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

निल हिरा समाजका प्रदेश संयोजक प्रदिप यादवले प्रदेश २ सरकार र स्थानीय सरकारले सञ्चालन गरेको क्वारेण्टाइनको अवस्था दयनीय रहेको बताउनु भयो ।

क्वारेण्टाइनमा करोडौं रकम खर्चेको भएपनि सो अनुसार खानपान, सरसफाई र बसाइको व्यवस्थापन नभएकाले क्वारेण्टाइनमा बस्नेहरू कोरोनाबाट त्रसित वातावरणमा बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

महिला अधिकारकर्मी मुनी दासले लकडाउन खोलिएपछि अहिले तरकारी बजारदेखि स्वास्थ्य संस्था र क्लिनिकहरूमा समेत मान्छेहरूको निकै भिडभाड देखिएकाले कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिन सक्ने खतरा भएको बताउनु भयो ।

उहाँले स्वास्थ्य जस्तो संवेदशनील क्लिनिकहरूमासमेत मास्क र सेनिटाइजर बिना मान्छेहरूको भीडभाड गराई सञ्चालन भएको बताउनु भयो ।

उहाँले यसरी सञ्चालित क्लिनिक, अस्पताल र प्याथोलोजी सेवाले अशिक्षित समुदाय भन्दा पनि शिक्षितहरू काम गर्ने ठाउँ नै कोरोनाको जोखिममा रहेको बिडम्बना अवस्था प्रष्ट पार्नु भयो ।

लैङ्गिक हिंसा न्यूनिकरण सञ्जालकी कोषाध्यक्ष सुभद्रा आले मगरले अहिलेको कोरोना महामारीको बेलामा मानव अधिकार  उल्लङ्घनको  घटनाहरूमा वृद्धि भएको बताउनु हुँदै बन्दाबन्दीको समयमा भएको जघन्य प्रकारको घटनामा मानव अधिकारकर्मीहरूलाईसमेत स्थलगत अनुगमन गर्न असहज भएको बताउनु भयो ।


दीपेन्द्रप्रसाद सिंह