प्रदेश २ कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि तयारी अवस्थामा

  ०७६ चैत १५ गते

प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै तयारी अवस्थामा रहेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि एकान्तवासमा बस्न जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइन र आइसुलेशन वेड तयारी अवस्थामा रहेको जिल्ला प्रतिनिधिहरूले सूचना पठाउनु भएको छ ।

धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार प्रदेश २ मा उपकरण अभावका बिच २ सय ५० वेड आइसुलेशन र ५ सय क्वारेन्टाइन वेड तयारी अवस्थामा रहेको छ । उपकरण अभाव रहेकाले गर्दा तत्काल प्रदेश २ मा प्लान ए र वि गरि दुई चरणमा तयारी गरेको स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. बिजय झाले बताउनु भएको छ ।

कोरोना सङ्क्रमित पाइएको खण्डमा उपचारका लागि खटिने चिकित्सकहरुले प्रयोग गर्ने थर्मल गण, पिपिइलगायतको अति आवश्यक सामाग्रीहरु नै अभाव रहेकाले गर्दा तत्काल पाँच देखि सात जना सङ्क्रमितलाई उपचार मात्रै गर्न सक्ने उपकरण रहेको डा. झाले बताउनु भयो । उपकरण अभाव भएपनि पहिलो प्लान अन्तर्गत सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लामा कोरोना सङ्क्रमित भेटिएमा जनकपुरस्थित जानकी मेडिकल कलेज ब्रह्मपुरीमा स्थापना गरिएको २० वेडको आइसुलेसन वार्डमा उपचार गर्ने तयारी गरेको उहाँले बताउनु भयो ।

सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सङ्क्रमित पाइएको खण्डमा वीरगंजस्थित नेशनल मेडिकल कलेजमा ५० वेडको आइसुलेशन वार्ड तयारी अवस्थामा राखेको बताउनु भयो । उपकरण पर्याप्त अवस्थामा आएको खण्डमा प्लान वि अन्तर्गत जिल्ला जिल्लामा आइसुलेशन वार्डको विस्तार गरिने डा. झाले बताउनु भयो ।

यता, सङ्क्रमण भएको आशङ्का गरिएका वा लक्षण देखिएमा प्रदेश २ सरकारले स्वास्थ्य निर्देशनालयले स्थानीय सरकार र जिल्ला प्रशासनको समन्वयमा प्रदेश २ सरकारले आठ ओटै जिल्लामा ५ सय भन्दा बढी क्वारेन्टाइन वार्डको व्यवस्था गरेको छ ।

क्वारेन्टाइनको लागि धनुषाको जनकपुरस्थित जानकी मेडिकल शिक्षण अस्पतालमा ६० वेड, नगराइन नगरपालिकाको गंगुलीस्थित आयुर्वेद मेडिकल कलेजमा ५० बेड, जनकपुरको मुलेजियामा निमार्णाधिन अवस्थामा अलपत्र परेको मणिपाल शिक्षण अस्पतालको प्रयोगबिहीन भवनमा ५० वेडको क्वारेन्टाइन स्थापना गरेको बताउनु भयो ।

पर्साको वीरगंजस्थित नेशनल मेडिकल कलेज, नारायणी उपक्षेत्रिय अस्पताल, जनकपुरस्थित प्रादेशिक अस्पताललगायत जिल्लाको जिल्ला अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.हरिश्चन्द्र साहले बताउनु भयो ।

कोरोना भाइरस सम्बन्धि उपचार तथा रोकथामका लागि सामाजिक विकास मन्त्री नवल किशोर साहको संयोजकत्वमा चैत ११ गते मंगलवार विभिन्न संघसंस्थाहरुको प्रतिनिधि सदस्य रहने गरि समिति समेत गठन गरिएको छ । कोभिडको उपचार, नियन्त्रण तथा व्यवस्थापनको लागि कमिटीले काम गरेको छ ।

कोरोना उपचार तथा चेकजाँचका लागि प्रयोग गरिने सामग्री अभाव

प्रादेशिक अस्पताल जनकपुर र जानकी मेडिकल कजले शिक्षण अस्पतालमा कोरोना भाइरस आशङ्का भएका विरामीहरुको चेकजाँचको लागि अति आवश्यक पर्ने साम्रगी तथा उपकरण अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेश २ सरकारले सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय मार्फत प्रादेशिक अस्पताल र जानकी मेडिकल कलेजमा कोरोना भाइरस सङ्क्रमित आशङ्का गरिएका र सङ्क्रमित भएका व्यक्तिहरुको उपचारको लागि व्यवस्थापन गरेको दावी गरेपनि उपकरण अभावले गर्दा अहिले ज्वरो आउने विरामी समेत भर्ना गर्न नसकेको जानकी मेडिकल कलेजका प्रशासन प्रमुख विनोद साहले बताउनु भयो ।

प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा. नागेन्द्र यादवले भन्नु भयो– हामीसँग चिकित्सकका लागि आवश्यक प्रोटेक्टेट कपडा पिपिई, मास्क, ग्लोव लगायत सामग्री छैन, अहिलेको अवस्थामा हामी कोरोना भाइरसको कुनै विरामीको उपचार तथा चेकजाँच गर्न सक्ने अवस्थामा छैनौँ’ । उहाँले भन्नु भयो,–‘हाम्रो अस्पताल प्रशासन र प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय मार्फतबाट सङ्घीय सरकारबाट आवश्यक सामग्री माग गरिएको छ तर अहिलेसम्म प्राप्त हुन नसकेको बताउनु भयो ।

जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना लक्षण भएका विरामीहरू अस्पतालमा आउनेक्रम बढेपछि अस्पतालले एम्बुलेन्सबाट समेत झर्न नदिएर काठमाडौँ वा धरान पठाउने गरेको छ ।

प्रदेश २ का स्वास्थ्य निर्देशनालका निर्देशक डा. हरिश्चन्द साहले विरामी चेक जाँच गर्दा डाक्टर र नर्सले लगाउनुपर्ने आवश्यक सामाग्री र विरामी चेकजाँच गर्न आवश्यक सामग्री केन्द्र सरकारसँग माग गरिएको बताउनु भयो ।

स्वास्थ्यकर्मीहरूले भने आफूहरूको लागि आवश्यक प्रोटेक्टेट सामग्री जिल्लामा नभएका कारण जोखिम मोलेर काम गर्न नसक्ने बताउँदै आएका छन् ।

प्रदेश २ सरकारद्वारा २५ करोडको अक्षयकोषको स्थापना

प्रदेश २ सरकारले कोरोनाविरुद्ध महामारीबाट लड्नका लागि प्रदेश २ का सबैमन्त्रिहरुले एक महिनाको तलव कोरोना सङ्क्रमितविरुद्धको अक्षयकोषमा राख्ने निर्णय गरेका छन् । प्रदेश २ को मन्त्रि परिषदको चैत १३ गते बसेको बैठकबाट प्रदेश २ मा २५ करोडको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

प्रदेश २ सरकारले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्न समेत इच्छुक व्यक्ति, बैंक, व्यापारी लगायत संघसंस्थाहरुलाई प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आह्वान समेत गर्नु भएको छ ।

बैठकबाट मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री सदस्य रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ । महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि विशेष कार्यकारी समिति गठन गरेको छ ।

कार्यकारी समितिलाई चैत १३ गते बसेको मन्त्रि परिषद बैठकबाट विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्नेछ ।

प्रदेश २ को तीन अस्पतालमा जाँच ल्याव

मन्त्री परिषदको चैत १३ गतेको बैठकबाट प्रदेश २ को तीन अस्पतालमा कोरोना भाइरसको सङ्क्रमण चेकजाँचका लागि ल्याव स्थापना गर्ने निर्णय गरेको छ । प्रादेशिक अस्पताल जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनारायण सिंह उपक्षेत्रीय अस्पताल राजविराजमा कोरोना सम्बन्धी जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय गरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्र कुमार यादवले बताउनु भयो ।

मन्त्री परिषदको बैठकले लक डाउनका कारण खानपानमा समस्या भएका मजदुर, गरिब जनताहरुका लागि राहत प्रदान गर्न स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने निर्णय गरेको छ ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहर पोखरेलका अनुसार कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि एकान्तवासमा बस्न सप्तरीको विभिन्न २७ स्थानमा ४ सय २४ शैयाको क्वारेन्टाइन सञ्चालन गरिएको छ । भारतलगायत विदेशबाट आएका व्यक्तिहरुलाई १४ दिनसम्म निगरानीमा राख्न सप्तरीको १८ ओटै स्थानीय तहहरुले आ–आफ्नो श्रोत साधनलाई उपयोग गर्दै क्वारेन्टाइन निर्माण गरेका हुन् ।

राजविराज नपा–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा २५, कञ्चनरुप नपा–८ स्थित सर्वोदय माविमा १२, शङकर माविमा १२, वडा नम्बर–१० स्थित बदगामा स्वास्थ्य चौकीमा पाँच र वडा नम्बर–११ स्थित दुर्गा आधारभूत विद्यालय ठेलियामा १०, डाकनेश्वरी नगरपालिकास्थित कच मावि पातोमा पाँच, बोदे बर्साइन नगरपालिकास्थित जियालाल माविमा १० र जीवनदिप अस्पतालमा ७, शम्भुनाथ नपा–७ स्थित बुद्धिलाल बिद्या मुनर नमूना मावि भगवतपुरमा–१०, सुरुङ्गा नपा–५ स्थित मसिलाल मावि कुशहामा १०, हनुमाननगर कंकालिनी नपा–२ स्थित सकरदही विद्यालयमा २० र वडा नम्बर–११ स्थित सामुदायिक भवनमा ३०, सप्तकोशी नपा–२ स्थित गोबैज मावि फत्तेपुरमा २१ र वडा नम्बर–१० स्थित जनता मावि भगनी मलेठमा २१ तथा खडक नपा–९ स्थित स्वास्थ्य चौकी मैना सहर्षबाहुमा १० शैया क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार राजगढ गाउँपालिकास्थित जसमावि नर्घोमा ३०, अग्नीसाइर कृष्णसवरण गाउँपालिकास्थित जनचेतना मावि घोघिदाहामा २४, छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालामा २५, महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि पकरीमा २५ र वडा नम्बर ३ स्थित मावि बथनाहामा २५, तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित बृद्धाश्रममा १० र वडा नम्बर–८ स्थित लबनमावि बमनगामा कट्टीमा १५, रुपनी गाउँपालिका–४ स्थित जमुनी मधेपुरा माविमा १०, मावि तेरहौतामा १५, बिष्णुपुर गाउँपालिकास्थित जनता मावि बिष्णुपुर कट्टीमा १५, बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियामा १८ र तिरहुत गाउँपालिका–५ स्थित सरस्वती जनता मावि लोहजरामा चार शैया क्षमताको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

सप्तरीको क्वारेन्टाइनमा नौ महिलासहित १ सय १३ जना

कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन एकान्तवासका लागि सप्तरी जिल्लाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा भारतलगायत विदेशबाट आएका नौ महिलासहित १ सय १३ जनालाई राखिएको छ ।

भारतीय खुला सीमामा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नपा–११ स्थित सामुदायिक भवनमा एक महिलासहित १० जना, कञ्चनरुप नपा–८ स्थित सर्वोदय माविमा दुई महिला र एक पुरुष, वडा नम्बर–१२ स्थित शङ्कर माविमा तीन पुरुष, बोदे बर्साइन नगरपालिकास्थित जीवनदिप अस्पतालमा दुई पुरुष, डाकनेश्वरी नगरपालिकास्थित कच मावि पातोमा चार पुरुष, खडक नगरपालिका–९ स्थित स्वास्थ्य चौकी मैना सहर्षबाहुमा दुई पुरुष र राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा एक महिलासहित १२ जनालाई राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियामा एक महिलासहित १८ जना, छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालामा तीन महिलासहित १३ जना, तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बृद्धाश्रममा आठ पुरुष र वडा नम्बर–८ स्थित लक्ष्मी बल्लभ नरसिंह माविमा चार पुरुष, अग्नीसाइर कृष्णसवरण गाउँपालिकास्थित जनचेतना मावि घोघिदाहामा एक महिलासहित नौ जना, बिष्णुपुर गाउँपालिकास्थित जनता मावि बिष्णुपुर कट्टीमा नौ पुरुष, महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि पकरीमा सात पुरुष, राजगढ गाउँपालिकास्थित जसमावि नर्घोमा दुई पुरुष, तिरहुत गाउँपालिका–५ स्थित सरस्वती जनता मावि लोहजरामा चार पुरुष, रुपनी गाउँपालिका–४ स्थित जमुनी मधेपुरा माविमा एक र तेरहौता माविमा दुई पुरुष राखिएको छ ।

शम्भुनाथ नगरपालिका–७ स्थित बुद्धिलाल बिद्या मुनर नमूना मावि भगवतपुरबाट पाँच पुरुष र राजगढ गाउँपालिकास्थित जसमावि नर्घोबाट ती पुरुष डिस्चार्ज भएका छन् भने राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलबाट भारतको दिल्लीबाट आएका एक युवक भागेको स्वास्थ्य निरीक्षक शिवनारायण चौधरीले बताउनु भयो ।

सप्तरी जिल्लाको १८ ओटै स्थानीय तहले अस्पताल, स्वास्थ्य चौकी, विद्यालय, सामुदायिक भवन गरी विभिन्न २४ स्थानमा क्वारेन्टाइन सञ्चालन गरेको छ । हालैमात्र भारतलगायत विदेशबाट आएका व्यक्तिहरुलाई १४ दिनसम्म एकान्तवासमा राखी निगरानी गरिने र लक्षण नभेटिएकाहरुलाई डिस्चार्ज गर्दै जाने बताइएको छ ।

खुला सीमाको विभिन्न नाकाबाट आएका र हवाई उडानबाट आएकाहरुको खोजी गरी सम्बन्धित नगरपालिका तथा गाउँपालिकाहरुमै व्यवस्था गरिएको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनु भयो ।

सङ्क्रमणको जोखिम बढेपछि हटिया (बजार) सारियो

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि सप्तरी जिल्ला राजविराज नपा–७ स्थित गुदरी हटिया चैत १५ गतेदेखि राजविराजको रंगशालामा सारिएको छ । राजविराज नगरपालिकाको चैत १४ गते बसेको वैठकले यस्तो निर्णय गर्दै आवश्यक तयारी गरेर फराकिलो रहेको रंगशाला खेल मैदानमा तरकारी हटिया सञ्चालन गरेको नगर प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनु भयो । प्रत्येक दिन विहान ६ बजेदेखि ९ बजेसम्म सामाजिक दुरी कायम गरी खेल मैदानमा तरकारी हटिया सञ्चालन भएको छ ।

रंगशाला खेलकुद मैदानमा तरकारी व्यापारीहरुबीच तीन मिटर र ग्राहकहरु बीच दुई मिटरको दुरी कायम गरी घेरा चिन्ह भित्र बसेर तरकारी खरिद बिक्री गर्नुपर्ने व्यवस्था मिलाइएको सशस्त्र एसपी उद्धव न्यौपानेले जानकारी दिनु भयो । लकडाउन भएपछि बिहान तीन घण्टा खुल्ने गरेको तरकारी हटियामा हुने भिंडभाडले सङ्क्रमणको जोखिम बढेको जनगुनासो पछि राजविराजको हाट रंगशालामा सारिएको हो ।

यसैगरी राजविराज नगरपालिकाको १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्न नगरपालिकाले स्थानको खोजी सुरु गरेको छ । नगर प्रमुख यादवका अनुसार सबै वडा अध्यक्षहरुलाई आ–आफ्नो वडाको फराकिलो स्थानमा हाट सञ्चालन गर्न निर्देशन गरिएको छ ।

लकडाउन अवधिभर दैनिक उपभोग्य खाद्यान्न बस्तु घर–घरमा पु¥याउन अनलाइन पसल सञ्चालन हुने भएको छ । खाद्यान्न सामग्री घर–घरमा पु¥याउन स्थानीय रमेश किराना पसल र निर्मल किराना पसललाई नगरपालिकाले जिम्मा दिने निर्णय गरेको नगर प्रमुख यादवले जानकारी दिनु भयो ।

नगरपालिकाले चैत १५ गते बिहान १० बजेदेखि कोरोना भाइरस र अन्य किटाणु विरूद्धको किटनाशक (डिसइन्फेक्टान्ट) औषधि नियमित रुपमा छर्ने समेत निर्णय गरेको छ ।

रोगले भन्दा पहिले भोकले मर्ने चिन्ता

कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम बढेपछि चैत ११ गतेदेखि सीमा–नाका बन्द हुनुका साथै मुलुक साताव्यापी ‘लकडाउन’ मा छ ।

एक्कासी लकडाउन भएपछि निम्न र मध्यमवर्गीय नागरिक नराम्ररी प्रभावित भएका छन् । घरबाहिर निस्कनै नपाउँदा दैनिक कमाएर खाने वर्गमा सबैभन्दा ठुलो असर परेको छ । दैनिक ज्याला मजदुरी गर्नेहरूको अन्य उपाय नहुँदा छाक टार्न मुश्किल परेको सप्तरी जिल्ला राजविराज नपा–७ का चालक घनश्याम यादवले बताउनु भयो ।

साइकलमा चिया बिक्री गरेर सात जनाको परिवार पाल्दै आउनु भएका अशोक सहनीलाई दैनिकी गुजारा गर्न चिन्ता थपिएको छ । धनुषाको कमला सिद्धिदात्री गाउँपालिका–२ माची झिटकहिया घर भई ६ वर्षदेखि राजविराज नपा–५ मा डेरा लिई बसेका सहनी भन्नुहुन्छ–‘दिनभरी चिया बेचेर कमाएको पैसाले चुल्हो बल्ने गरेकोमा रोजीरोटी बन्द भएपछि छोराछोरीलाई हम्मे परेको छ ।’ उहाँको एक पत्नी तथा ७ वर्ष मुनिका तीन छोरी र दुई छोरा छन् ।

कृषि र निर्माणसम्बन्धी काम गरेर जिविकोपार्जन गर्दै आउनु भएकी राजविराज नपा–१६ की अमलादेवी सदालाई पनि दुई छोरीलाई खुवाउन गाह्रो भएको छ । पाँच वर्षअघि धेरै कमाउन भनी मजदुरीका लागि काठमाडौँ छिरेका पति निवलालले दोस्रो विवाह गरेर उतै बसेपछि दुई छोरीको मुखमा माड लगाउन अमलाले ज्यालादारी मजदुरी गर्न थालेकी हुन् । अहिले लकडाउनले सबै कामहरु बन्द भएपछि भोकै बस्ने अवस्था आएको उहाँले बताउनु भयो ।

कोरोना त्रासका कारण लकडाउन भई खाद्यान्न आयातमा कमी र त्रासले गर्दा माग बढेपछि चामल, दाल, चिनी, पिठो, चुरा खरिद गर्न नपाउँदा र तरकारी दोब्बर महङ्गो हुँदा उपभोक्ताहरू अप्ठ्यारोमा परेको राजविराज नपा–६ का बिनोद गुप्ताले बताउनु भयो । सरकारी निकायहरूले अभाव नरहेको दाबी गरे पनि बजारमा दैनिक उपभोग्य बस्तु पाउन मुस्किल भइरहेको र महङगिएको उपभोक्ताहरूको गुनासो छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाको त्रासले लामो समयसम्म आवागमन बन्द हुने चर्चासँगै अभाव र मूल्य बृद्धिको डरका कारण उपभोक्ताहरू बीच सामानहरूको भण्डारण गर्ने होडबाजी चलेकाले खाद्य अभाव भएको सप्तरी उद्योग बाणिज्य संघका महासचिव अनन्तलाल साहको भनाई छ । लकडाउन भएपनि समान आयात–निर्यात बन्द नहुने स्पष्ट पार्दै आएको नेपाल सरकारले एक सप्ताहका लागि सीमा नाका र बजार बन्द गरेपछि जनजीवन पूर्णत प्रभावित बनेको छ । कोरोनाको संक्रमण रोकथाम गर्न र फैलिन नदिन लकडाउनलाई कार्यान्वयन गर्नुपर्ने बताउँदै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जोखिममा रहेका निम्न वर्गलाई खाधान्न सहयोग गर्न नागरिक समाजसँग अनुरोध गर्नु भयो ।

सरकारले लामो दिनसम्म लकडाउन ग¥यो भने दैनिक ज्याला मजदुरी गर्नेहरु रोग भन्दा पहिले भोकबाटै मर्ने साहित्यकार एवम अधिवक्ता सागरविर कडारीको चिन्ता छ । ‘कोही साइकलमा घुमेर, साना पसल थापेर, मागेर खाने छन् भने कोही कवाडीका बोरा बोकेर खानेहरु पनि छन्’ कडारीले भन्नु भयो–‘लकडाउन लम्बिने अवस्था रहेकाले तीनै तहको सरकारले दैनिक मजदुरी गर्ने गरिव, असहायका लागि विशेष प्याकेज बनाएर कार्यान्वयन गर्नुपर्छ ।’

महोत्तरी जिल्ला प्रतिनिधि अजय कुमार साहका अनुसार जिल्ला सुरक्षा समिती महोत्तरीले भारतसँग जोडिएको मलिवारा (भिठामोड) बाहेकको सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीको अध्यक्षतामा चैत ८ गते बसेको सुरक्षा समितीको बैठकले यस्तो निर्णय गरेको हो । उहाँले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षा सतर्कता अपनाउदै चैत ९ गतेदेखि ११ वटा नाकाहरु बन्द गर्ने निर्णय भएको जानकारी दिनु भयो ।

कोरोना भाइरस (कोभिड–१९) नेपाल भित्रिन सक्ने उच्च जोखिमका कारण सुरक्षा सतर्कता अपनाउँदै समितिले मटिहानी नगरपालिकाका दुई ओटा, मनरासिस्वा नगरपालिकाका पाँच ओटा, सोनमा गाउँपालिकाका दुई ओटा र सम्सी गाउँपालिकामा दुई ओटा नाका बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तैगरी महोत्तरीमा भारतसँग जोडिएका १२ नाकाहरु रहेका छन् । यी नाका बाहेक समेत नेपाल भारतबीचको सानो छोटीनाका र चोरबाटोहरु समेत नेपाली सुरक्षाकर्मीहरुको तर्फबाट बन्द हुने प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनु भयो ।

उहाँले भारतीय नागरिकसहित अन्य मुलकबाट आउने नागरिकलाई अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाउने निर्णय भएको बताउनु भयो । भारतबाट नेपाल फकर्ने नेपाली नागरिकलाई सीमा नाकाबाट स्वास्थ्य जाँच गराई प्रवेश गर्न दिइने उहाँले जानकारी दिनु भयो ।

कारोना त्रास लकडाउन : दैनिक ज्याला मजदुरी गर्ने भन्छन्–'रोगले त विस्तारै लान्थ्यो होला, पेट बाँधेर कत्ति दिन बाँचिएला'

विश्व ब्यापी रुपमै संत्रास फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लक डाउनमा स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन एकातिर आग्रह गरिरहेका छन् भने अर्कोतर्फ दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने श्रमिक मजदुरहरु भने निरास हुन थालेका छन् । काम नगरि खान नपाउने र परिवारको लालनपालनमा समेत समस्या हुने भएको भन्दै उनीहरु चिन्ता व्यक्त गर्न थालेका हुन् ।

चैत १४ गते घर निर्माणका लागि मजदुरी गर्ने महोत्तरी जिल्ला वर्दिवास नपा–३ का राकेश परियारले भन्नु भयोे, –‘दैनिक ज्याला मजदुरीबाटै बिहान बेलुकाको चुलो बल्ने गरेकाले काम बन्द गरेपछि आफूहरुको बिहान बेलुकाको छाक पनि बन्द हुने अवस्थामा छ ।’

निर्माण कार्य कै अर्का मजदुर वर्दिवास नपा–९ किसान नगरका ओमप्रकाश महतोले पनि कोरोना भाइरसबाट जोगिन सरकारले घरमै बस्न आग्रह गरेको थाहा छ तर उहाँले प्रश्न गर्नु भयो,–‘मैले काम नगरे मेरो घरको चुल्हो कसले बालिदिन्छ ?’

यस्तै गौशला नपा–५ का ठेला मजदुर रामनारायण दासले पनि तीन दिनदेखि घरमा बसेर खाएको तर अब घरमा भएको खाद्यान्न सकिन लागेको भन्दै उहाँले भन्नु भयो,–‘हाम्रो पेशा घरबाटै सञ्चालन हुन सक्दैन, घरमै बसे परिवार पाल्न सकिन्न्, त्यसैले जोखीम मोलेर पनि ठेला लिएर घरबाहिर निस्केको हेरौ केहि काम पाइन्छ कि ।’

सरकारले पूर्वतयारी नै नगरी एक्कासी लकडाउनको निर्णय गरेपछि निम्न र मध्यमवर्गीय नागरिक नराम्ररी प्रभावित भएका छन् । यसको सबैभन्दा ठूलो असर दैनिक कमाएर खाने वर्गमा परेको छ । घरबाहिर निस्कनै नपाउँदा दैनिकी कसरी चलाउने भन्ने चिन्ता थपिँदो छ ।

जलेश्वर नपा–३ की फूलो देवी महरा ज्यालादारी मजदुर हुनु हुन्छ । कृषि र निर्माण सम्बन्धी काम गरेर उहाँले दुई छोरी सहित तीन जनाको परिवार पाल्दै आउनु भएको छ । सरकारले लकडाउन गर्ने निर्णयले निर्माण सम्बन्धी काम रोकिएपछि उहाँको रोजिरोटी पनि खोसिएको छ । छोरीलाई कमाएर खुवाउन हम्मे–हम्मे परेको फुलो देवीले सुनाउनु भयो । १२ वर्षअघि पति धनबीर दासको मृत्यु भएको बताउँदै भङ्गहा नपा–३ का शैलदेवी दासले ज्याला मजदूरी गरेर दुई छोरीको पालनपोषण गर्नु भएको र उनीहरुको विवाह समेत गराएको बताउनु भयो । तर, छोरीको आर्थिक अवस्था कमजोर भएका कारण दुई वटी नातिनी पाल्ने जिम्मा अहिले पनि देवकी माथि नै छ । जसोतसो जीविका चलाइरहेका बेला सबैतिर काम बन्द हुँदा के खाने भन्ने चिन्ता सुरु भएको उहाँले गुनासो गर्नु भयो । देबकीले भन्नु भयो,–‘रोगले त विस्तारै लान्थ्यो होला, पेट बाँधेर कत्ति दिन बाँचिएला अब त कसैले देला र खाउँला भन्ने बाहेक अर्को बिकल्प नै छैन ।’

यसरी महोत्तरी जिल्लामा भुमिहीन र सुकुम्वासीको वसोवास ठूलो छ । ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्ने ती हजारौँ मजदूरको अवस्था यतिबेला दयनीय छ । सदरमुकाम जलेश्वर र प्रमुख व्यापारी केन्द्र वर्दिवास, गौशलामा मात्रै ५ देखि ७ सय मजदूरहरु कामको खोजीमा विभिन्न स्थानबाट जम्मा हुने गरेका छन् । लकडाउनको निर्णयले त्यो पनि रोकिँदा काम पाउनै गाह्रो भएको वर्दिवास नपा –३ गौरीडाडाका मजदूर दुर्गा सुनुवारले बताउनु भयो ।

अर्को तर्फ लकडाउन गर्ने निर्णयले दैनिक उपभोग्य सामग्रीमा भएको मुल्यवृद्धिले थप समस्या भएको मजदुरहरु बताउँछन् ।

हरेक उपभोग्य सामग्रीमा ३० प्रतिशतसम्म मूल्य वृद्धि गरिएको छ । दाल, चामल, तरकारी लगायतका सामानमा एक्कासी भएको मुल्यवृद्धिले किनेरै खानुपर्ने तथा मजदूरी गरेर जीविकोपार्जन गरिरहेका प्रत्यक्ष प्रभावित भएका छन् । सम्बन्धित निकायले बजार नियन्त्रण गर्न नसक्दा निम्नवर्गका व्यक्तिहरुलाई छाक टार्न समेत समस्या हुन थालेको वर्दिवासका मजदूर नेता उमेश लामाले बताउनु भयो ।

‘१ सय १० पर्ने मुसुरीको दाल १ सय ४० र ३० रुपियाँको आलु ६० रुपियाँ पुग्यो’–उमेशले भन्नु भयो, ‘काम गर्न नपाउने मजदूरले अब कसरी किनेर खाने ? काम नपाउने तर कालोबजारी बढ्दै जाने समस्याले दैनिक मजदूरी गरेर खाने समुह भोक–भोकै हुनुपर्ने अवस्था आएको छ ।’

यस्ता वर्गका लागि संघ, प्रदेश र स्थानीय सरकारले विशेष प्याकेज नै बनाएर कार्यान्वयमा ल्याउनु पर्ने उहाँले माग गर्नु भयो । ‘सरकारले समयमै यस विषयमा ध्यान नदिए जनता रोगले भन्दा पनि भोकले मर्छन् ।’

जलेश्वर कारागार कोरोना (कोभिड—१९) को उच्च जोखिममा

क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी रहेको जलेश्वर कारागार कोरोना (कोभिड—१९) को उच्च जोखिममा रहेको छ । भारतीय सीमा भीट्ठामोड र मधवापुर मठिहानीसँग सबैभन्दा नजीक रहेको सो कारागारमा रहेका भारतीय कैदीबन्दीहरुलाई भेट्न आउने उनीहरूका आफन्तमा कोभिड—१९ को सङक्रममण हुन सक्ने भएकाले कारागार उच्च जोखिममा रहेको कारागार प्रशासनले जनाएको छ ।

भारतीय सीमा नजीकैको कारागार भएको, १ सय ३५ जना क्षमता रहेको जलेश्वर कारागारमा ४ सय ८० पुरुष, ४३ महिला र चार आश्रित बालबालिका गरी ५ सय ३० जना कैदीबन्दी रहेको मध्ये ३१ जना विदेशी भारतीय नागरिक छन् । भारतमा कोरोनाको सङ्क्रमण देखिएकाले यस कारागार अहिले कोरोना भाइरसको उच्च जोखिममा रहेको कामु जेलर मकसुदन महासेठले बताउनु भयो ।

क्षमता भन्दा चार गुणा बढी कैदीको सङ्ख्या भएकाले कारागारले कोभिड– १९ को जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाएको छ । कारागार व्यवस्थापनले कैदीबन्दीलाई व्यक्तिगत सरसफाइ, कोभिड –१९ सम्बन्धी सचेतना कार्यक्रम तथा एक कैदीबन्दीलाई बढीमा एक आफन्तसँग १५ मिनेटका लागि मात्र भेटघाट गर्न दिने गरेको छ ।

कारागार प्रसाशनले कारागार व्यवस्थापन विभागले गरेको पत्राचार नुसार कैदीलाई भेट्न आउने आफन्तले अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने, मास्क लगाएर आउनुपर्ने, भेट्न आउने व्यक्ति स्वस्थ्य हुुनुपर्ने, ज्वरो, रुघाखोकी नलागेको हुनुपर्ने, आफन्तले कोसेलीका रुपमा घरबाट केही ल्याउन नपाउने तथा आफन्तसँग भेट्दा कैदीबन्दीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेको छ ।

यसैगरी अदालतको आदेश बाहेक अरुलाई कारागारभित्र जानआउन रोक लगाइएको छ । भारतीय कैदी बढी भएकाले कारागारभित्र सङ्क्रमण फैलिएमा परिस्थिति नियन्त्रण बाहिर जान सक्ने सम्भावनालाई दृृष्टिगत गरी कारागार प्रशासनले यस्तो सतर्कता अपनाएको जेलर महासेठको भनाइ छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएको सो कारागारमा एउटै कोठामा बढी कैदीबन्दी भएकाले नियमन गर्दागर्दै पनि कोभिड –१९ को संक्रमण फैलिएमा परिस्थिति नियन्त्रण बाहिर जाने चिन्ता व्यक्त गर्दै जेलर महासेठले भन्नु भयो,–‘अहिले पनि कारागारमा दिनहुँ कैदीबन्दी थपिने गरेकाले नयाँ कैदीबन्दीबाट सङ्क्रममण नफैलियोस् भनेर अनिवार्य स्वास्थपरीक्षणको व्यवस्था मिलाइएको छ ।’

कारागारभित्र ब्लक सिष्टमको अभाव, आन्तरिक सुरक्षा र व्यवस्थापनमा देखिएको समस्या, क्षमताभन्दा बढी कैदीबन्दी, जीर्ण संरचना, सुरक्षाकर्मी र जनशक्तिको अभाव जस्ता कारणले कारागारभित्रको सुरक्षा संवेदनशीलता बढ्नाका साथै कोभिड –१९ को सङ्क्रमणको सम्भावना पनि उत्तिकै रहेको कारागारका जेलर महासेठको भनाइ रहेको छ ।

वि.सं १९५३ सालमा राणशासनकालको बेलामा निर्मित सो कारागारमा जम्मा १३ वटा कोठा छन् । त्यहाँका कैदीबन्दी अहिले धनुषा, महोत्तरी, सर्लाहीका साथै विभिन्न अदालत, जिल्ला प्रशासन र न्यायिक निकायका आदेशानुसार कैदीबन्दीको चाप अत्यधिक भएको र बढ्ने क्रम अझै जारी रहेको कारण कारागारभित्र खान, बस्न, सुत्न, खानेपानी, शौचालयको समस्याका साथै विभिन्न रोगको पनि सङ्क्रमण देखिएको जेलर बताउँनु हुन्छ ।

पर्सा जिज्ला प्रतिनिधि केसि लामिछानेका अनुसार अपतकालिन अवस्थाका लागि वीरगञ्जमा ५९ वेडको आइसुलेशन र ५० वेडको क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । खुल्ला सीमानाका कारण पर्सा जिल्ला भने निकै जोखिममा छ ।

वीरगञ्जमा आइसोलेशन वार्डको अवस्था

आपतकालिन अवस्थाको लागि वीरगञ्जमा ५९ ओटा आइसुलेशन वेडको व्यवस्थापन गरिएको छ । थप व्यवस्था गर्न पहल भइरहेको स्थानीय प्रशासनको दावी छ । नेशनल मेडिकल कलेजमा ५० ओटा, नारायणीमा पाँच ओटा र बयोधा होष्पिटलमा चार ओटा आइसुलेशन वेड तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकार ललित कुमार बस्नेतले बताउनु भएको छ । लकडाउन घोषणा हुनु पूर्व तयार भएको ५९ वेड त्यसपछि अहिले सम्म कुनै प्रगती भएको छैन । वीरगञ्ज भरिमा ५० भन्दा बढी आइसीयु वेड नै छैन । यस्तो आइसोलेशन वेडको तयारी हुन सकेको देखिँदैन ।

केडिया डेण्टल अस्पतालमा क्यावरेन्टाइनको व्यवस्थापन गरिएको छ । यस अस्पतालमा क्वारेन्टाइनको लागि ५० वेडको तयारी गरिएको छ । त्यसको व्यवस्थापन नेपाली सेनाले गरेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउँनु भयो । प्रदेश २ को एक मात्र महानगरमा कोरोना सङ्क्रमण नियन्त्रण गर्ने कोरोना अस्थायी अस्पतालको व्यवस्थापन हुन सकेको छैन ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको संयोजकत्वमा कोभिड १९ कमाण्ड पोष्ट पर्सा नाम दिएर पर्सामा कोरोना भाइरस रोकथाम नियन्त्रणका कामहरु भइरहेको छ ।

पिपिइको वीरगञ्जमा अवस्था

नारायणी अस्पताल वीरगञ्जका मेकिडल सुपरिटेन्डेन्ट उपाध्यायका अनुसार अस्पतालले आफ्नो स्रोत सधानबाट खरिद गरेको १ सय ५० थान पिपिइ मात्र आफुसँग रहेको छ । ४० ओटा कोरोना परिक्षण किट रहेका छन् जुन एक दम थोरै हो । चिकित्सकहरु सबै भन्दा बढी जोखिममा छन् । भोलिको खतरालाई आंकलन गर्ने हो भने पूर्व तयारी पर्याप्त नभएको चिकित्सकहरुको भनाई छ । कति आवश्यक पर्छ अहिले नै भन्न नसकिने उपाध्यायले भन्नु भयो । उहाँका अनुसार देशमा यो महामारी नफैलियोस भन्ने आशा गरौं नत्र स्रोत साधानको हिसावले अवस्था दयनीय हुन सक्छ ।


इन्सेक प्रदेश २ कार्यालय