प्रदेश १ मा कोभिड विरूद्ध साझा तयारी, इन्सेकको पहलमा कारागारमा माक्स वितरण

  ०७६ चैत १० गते

विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) विरूद्ध प्रदेश १ सरकारले विभिन्न तयारी गरिरहेको छ ।

भारत तथा चीनसँग नाका जोडिएको क्षेत्रमा नाकाबन्दीका साथै हेल्थ डेस्क स्थापना,सचेतनाका कार्यक्रम,माक्स तथा रेनिटाइजर वितरण, क्वारेन्टाइन र आइसोलेसन वार्ड तयारी भईरहेको छ ।

यसैबीच इन्सेक तेहृथुमले म्याङलुङ नगरपालिकाको समन्वयमा चैत ८ गते जिल्ला कारागारमा रहेका कैदी तथा बन्दीहरूलाई माक्स वितरण गरेको छ ।

कारागारमा रहेका ७२ जना कैदी र  ५ जना थुनुवा गरी ७७ जनालाई माक्स वितरण गरेको इन्सेक प्रतिनिधि भगिश्वर लिम्बूले बताउनुभयो ।

कारागारमा बढी जोखिम हुने भएका कारणले इन्सेकको समन्वयमा माक्स वितरण गरिएको नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङले बताउनुभयो ।

मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ तीन स्थानमा ४ सय ४० वेडको क्वारेन्टाईन तयार गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का शंकास्पद विरामी राख्नका लागि मोरङको मिक्लाजुङ ५ टाँडी, झापाको भद्रपुर र उदयपुरमा क्वारेन्टराईन निर्माण गरिएको हो । नेपाली सेनाले टाँडीमा ४ सय विगाहा क्षेत्रफलमा २ सय वेडको क्वारेन्टाईन निर्माण गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड कायम गर्नेगरी निर्माण गरिएको क्वारेन्टाईनमा प्रत्येक पालभित्र २/२ जना अट्ने वेड राखिएको छ । पालको दुरी ५ मिटरको फरकमा रहेको छ । २५ ट्वाईलेट/वाथरुमसमेत रहेको क्वारेन्टाईनसँगै झापाको भद्रपुरस्थित ग्रामीण कृषि प्रशिक्षण तालिम केन्द्रमा ४० वेड र उदयपुरको बेलस्रोतमा २ सय वेडको क्वारेन्टाईन निर्माण गरिएको नेपाली सेनाको नं. २ बाहिनी अड्डाका वाहिनीपति सहायक रथी यमप्रसाद ढकालले जानकारी दिनुभयो ।

सेनाले टाँडीमा १ सय वटा टेन्ट राखेर २ सय वेडको क्वारेन्टाइन बनाएको छ । त्यसैगरी फागुन २९ गते बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले टाँडीमा एक हजार र श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

प्रदेश १,सरकारले विराटनगरस्थित साल्ट ट्रेडिङ्गको भवनमा ५० वेडको कोरोना अस्पताल निर्माण गरीरहेको छ । त्यसैगरी कोशी अस्पतालमा १०,विराट मेडिकल अस्पतालमा १२,नोवेल मेडिकल अस्पतालमा १,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० वेडको आइसोलेसन वार्ड तयार गरिएको छ ।

ओखलढुङ्गा जिल्ला प्रतिनिधि शिवप्रसाद ढुङ्गानाका अनुसार ओखलढुङ्गाका विभिन्न १० स्थानमा हेल्थ डेक्ससहित सामुदायिक अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएको छ । ओखलढुङ्गा सामुदायिक अस्पताल सोब्रुमा चैत ८ गते आइसोलेसन कक्ष स्थापना गरिएको हो ।

सामुदायिक अस्पतालमा ६ कोठाको आइसोलेशन कक्ष बनाइएको छ । त्यस्तै ओखलढुङ्गाका आठ ओटै स्थानीय तह लिखु, चम्पादेवी, सुनकोसी, मोलुङ्ग, मानेभञ्ज्याङ्ग, चिशंखुगढी, खिजीदेम्वा र सिद्धिचरणमा स्वास्थ्य शाखा प्रमुखको नेतृत्वमा हेल्थ डेक्स स्थापना गरेर सचेतनाका कार्यक्रम जारी राखिएको छ ।

भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार जिल्ला अस्पताल भोजपुरमा चैत ६ गते आइसोलेसन कक्ष  तथा टक्सार एयरपोर्टमा यात्रुको स्वास्थ्य परीक्षणका लागि हेल्थडेक्स स्थापना गरिएको छ । जिल्ला अस्पतालमा १० शैयाको आइसोलेसन कक्ष तयार गरिएको जिल्ला अस्पताल भोजपुरका प्रमुख फनिद्र थापाले बताउनु भयो  ।

त्यस्तै जिल्ला रहेको एक मात्र एयरपोट भोजपुरमा ५ जना स्वास्थ्य कर्मीको टोलि खट्ने गरी हेल्थडेक्स स्थापनना गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनु भयो । एयरर्पोटको बाटो भएर जिल्लामा आवात जावत गर्ने यात्रुहरुलाई मध्यनजर गर्दै चैत्र ६ गतेबाट हेल्थडेक्स सञ्चालन गरीएको हो ।  भाइरस सम्बन्धि सचेतनाका लागी जिल्ला ९ वटै स्थानीय तहमा स्वास्थ्य कार्यालय मार्फत जानकारी गराईसकेको समेत प्रमुख फणिन्द्र थापाले बताउनु भयो ।

ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर मोहन पोखरेलको नेतृत्वमा २५ सदस्यीय र्यापिड रेस्पोन्स टिम गठन गरिएको छ । कोभिड–१९ बाट हुने संम्भावित परिस्थिति तथा चुनौती सामना गर्नका लागि टिम गठन गरिएको हो ।

जिल्लाको सुकेटार विमानस्थलमा हेल्थ डेस्क समेत स्थापना गरिएको छ । आवतजावत गर्ने यात्रुको चेकजाँच तथा परामर्श गरिएको प्रमूख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । चीन र भारतसँग सिमा जोडिएको जिल्ला भएकाले उच्च सतर्कता अपनाइएको प्रजिअ निरौलाले बताउनुभयो । यता भारतको सिक्किमसँग नाका जोडिएको चिवा भन्ज्याङ नाकामा पनि विशेष सावधानी अपनाइएको छ । कोरोना भाइरसको संक्रमण हुन नदिन उत्तिकै सावधानी पनि अपनाउनुपर्ने भएकाले हेलचेक्राई गर्न नहुने प्रजिअ निरौलाले बताउनुभयो ।

पाँचथर प्रतिनिधि मङ्गल वेघाका अनुसार जिल्लामा कोरोना विरूद्ध साझा अभियान सञ्चालन गरिएको छ ।

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार खुल्ला सीमानाका कारण नेपाल–भारत पूर्वी सीमानाबाट जुनसुकै बेला कोरोना संक्रमित नेपाल प्रवेश गर्ने खतरा बढेपछि इलाममा उच्च सर्तकता अपनाइएको छ । नेपाल–भारत पूर्वी सीमावत्र्ती क्षेत्रमा ‘हेल्थ डेक्स’ थप गरि नेपाल प्रवेश गर्नेमा चेकजाँच थालिएको छ । त्यसैगरी कारागारमा रहेका आफन्त तथा बन्दीलाई भेटघाट गर्न अस्थायी प्रतिबन्ध लगाईएको छ ।

उदयपुरपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार जिल्लामा कोरोना विरूद्ध सर्तकता अपनाईएको छ । सरकारको निर्णय पालना गर्दै बजार तथा स्कूल आदी बन्द गरिएको छ । नेपाली सेनाको १८ न.बाहिनीले आइसोलेसन वार्ड सहित क्वारेन्टाइन निर्माण गरेको छ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा काडडभिट्टा नाकामा सुरक्षा सर्तकता अपनाईएको छ । जिल्ला प्रहरी कार्यालय झापाको निर्देशनमा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले मुद्दाको प्रकृति हेरी आरोपितलाई हिरासतमा नराखी तारेखामा केही दिनको लागि छाड्ना थालेका छन् । कोरोना सङ्क्रमित हुन सक्ने भएकाले गृह मन्त्रालयको परिपत्र अनुसार हिरासतमा नराखी विशेष निगरानीमा राखी आरोपितहरुमाथि अनुसन्धान थालिएको झापा प्रहरीले जनाएको छ ।

धनकुटा जिल्ला प्रतिनिधि इश्वर थापाका अनुसार कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामी आएमा उपचारको लागि धनकुटा जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहकार्यमा बजारमा औषधि तथा दैनिक उपभोग्य सामग्रीको अवस्थाकाबारे तथ्यांक लिन सुरु गरेको छ ।

सोलुखुम्बु जिल्ला प्रतिनिधि भोजराज कार्कीका अनुसार जिल्लामा हेल्थ डेस्कसहित कोरोना विरूद्ध सर्तकता बढार्ईएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा कारागारमा क्षमता भन्दा बढी कैदी तथा बन्दी भएकाले कोरोनाको जोखिम गर्न आवश्यक तयारी थालिएको छ । त्यसैगरी जिल्ला अस्पतालमा हातधुने साबुन पानीसहित ओइसोलेसन वार्ड तयार गरिएको छ ।

खोटाङ प्रतिनिधि रामधन राईका अनुसार जिल्लामा कोरोना विरूद्ध सर्तकता बढाइएको छ ।

photo 20200319 Morang 1 (1)

photo 20200319 Morang 1 (1)

photo 20200319 Morang 1

Photo20200322


विराटनगर कार्यालय