प्रदेश सरकारद्धारा जनता आवासको लागि ४१ करोड बजेट विनियोजन

  ०७६ माघ २९ गते

बागमती प्रदेश सरकारले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिब लागि घर बनाइ दिन ४१ करोड बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले जनता आवास कार्यक्रम मार्फत प्रदेशको १० जिल्लाका आर्थिक रूपले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिबलाई नीजि घरको व्यवस्था गर्न ४१ करोड बजेट छुट्याएको हो । उक्त बजेटबाट १० जिल्लामा २ हजार ९६ भवन निर्माण गर्ने सरकारको योजना छ । आर्थिक वर्ष ०७५/७६ देखि संघीय सरकारले जनता आवास कार्यक्रम प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।
प्रदेश सरकारले मकवानपुरमा ६ सय ५० आवासका लागि १५ करोड, चितवनमा ७ सय ६६ आवासका लागि १३ करोड, धादिङमा ३ सय ३० आवासका लागि ५ करोड, रामेछाप र सिन्धुलीमा ५०/५० ओटा आवासका लागि दुबैलाई १ करोड ५० लाख, सिन्धुपाल्चोक, दोलखा, काभ्रे र रसुवामा ५०/५० ओटा आवासको लागि १/१ करोड बजेट विनियोजन भएको छ । यसैगरी नुवाकोटमा ५० आवासका लागि १ करोड बजेट विनियोजन गरिएको छ  ।
जनता आवास कार्यक्रम कार्यविधि तयार पारेर लाभग्राहि छनोट कार्यक्रम अगाडि बढिसकेको भवन आवास तथा सहरी विकास महाशाखा प्रमुख राजेशकुमार पौडेलले बताउनु भयो ।
प्रदेशको मकवानपुर, धादिङ र चितवनमा चेपाङ र वनकरिया समुदायको बसोबास भएकाले आवासको अधिकार प्रत्याभूतिको लागि भवन निर्माण गर्न लागिएको उहाँले बताउनु भयो । एउटा आवास निर्माण गर्न सरकारले लाभग्राहीलाई ३ लाख ३२ हजार ५ सय रुपैयाँ ३ किस्तामा प्रदान गर्ने गरेको सहरी विकास तथा भवन कार्यालय मकवानपुर शाखाका निमित्त कार्यालय प्रमुख सञ्जय पाण्डेले बताउनु भयो ।


पुष्पराज अधिकारी