प्रदेश सरकारको बीमा कार्यक्रमले पत्रकारलाई राहत

  ०७६ कात्तिक २६ गते

नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेश समितिको समन्वय तथा कर्णाली प्रदेश सरकारद्वारा मुलुकमै पहिलो पटक अघि सारेको पत्रकार दुर्घटना बीमा कार्यक्रमले राहत भएको लाभग्राही पक्षले जनाएको छ ।

पत्रकारहरूको आत्मबल बढाउन, सुरक्षाको अनुभूति दिलाउन र दुर्घटनामा परेका पत्रकारहरूलाई राहत पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ०७५ चैत २२ गतेदेखि कर्णाली प्रदेशका सबै पत्रकारहरूका लागि दुर्घटना बीमा कार्यक्रम ल्याएको थियो ।

पत्रकार दुर्घटना बीमा कार्यक्रम घोषणापछि यस प्रदेशका २ सय ८८ जना पत्रकारहरू बीमित रहेको नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेश समितिका महासचिव दीपेन्द्र शर्माले बताए ।

कार्यक्रम अन्तर्गत दुर्घटनामा घाइते भएका पत्रकारलाई ३ लाख रुपियाँसम्म प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रावधान रहेको महासचिव शर्माले बताए ।

बीमा कार्यक्रम अन्तर्गत नै दुर्घटनामा परी जेठ २९ गते मृत्यु भएका पत्रकार नन्दु गेलाङ्गका परिवारलाई  राष्ट्रिय बीमा कम्पनीले २ लाख ५० हजार रुपियाँ प्रदान गर्‍यो ।

यस्तै मष्तिष्कघातबाट पीडित नेपाल पत्रकार महासङ्घ, हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहोरा र बोनम्यारो रोगबाट पीडित सुर्खेतका पत्रकार डिलप्रसाद शर्माको उपचार खर्चका लागि कर्णाली प्रदेश सरकारले हालै ५ लाख रुपियाँ नगद सहयोग गर्ने निर्णय समेत गरेको जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाज रूपान्तरण, मुलुकको समृद्धि, मानव अधिकारको संरक्षण तथा सामाजिक न्यायका लागि अहोरात्र खटिने पत्रकारहरूको पिरमर्कालाई आत्मसात् गर्दै पत्रकार दुर्घटना बीमा कार्यक्रम ल्याइएको बताए ।


दुर्गा थापा