प्रदेश सभा बैठक पटक–पटकस्थगित हुँदा ओझेलमा प्रदेशको नाम र राजधानी

  ०७६ पुस २५ गते

प्रदेश २ मा पटकपटक प्रदेश सभाको बैठक स्थगित हुँदा प्रदेशको नाम र राजधानीको प्रस्ताव ओझेलमा परेको छ । पुस २४ गते दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको बैठक पुस २८ गते दिउँसो १ बजे बस्ने गरि चौथो पटक स्थगित भएको हो ।

२०७६ भदौ ५ गते नै प्रदेशको नाम र राजधानीबारे छलफल गर्न संसदमा प्रस्ताव दर्ता भएपनि सदन नियमित चल्न नसकेर प्रदेशको प्रस्तावीत नाम र राजधानीबारे सदनमा छलफल हुन नसकेको नेपाली काँग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले बताउनु भएको छ ।

नेकपाका प्रदेश सांसद रामचन्द्र मण्डलले सरकारले सदनमा प्रदेशको राजधानी र नाम बारे आफैले दर्ता गराएको प्रस्तावमा छलफल नगराई पटक पटक सूचना टाँस गरी संसद स्थगन गर्नु प्रदेशको लागि दुर्भाग्य रहेको बताउनु भयो । उक्त प्रस्तावमा छलफल गरी चाँडै छिनोफानो गर्नु पर्नेमा उहाँले बताउनु भयो ।

प्रदेश २ का सत्तासाक्षेदार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले प्रदेशको नाम मधेशप्रदेश राख्ने प्रस्ताव गरेको छ भने प्रदेश सरकारका प्रमुख प्रतिपक्षी नेकपाले जानकी र कांग्रेसले मिथिलाभोजपुरा प्रदेशको नाम राख्नुपर्ने प्रस्ताव गरेको छ ।

प्रदेश सभाको बैठक नियमित रुपमा बस्न नसकेपछि प्रदेश सभामा दर्ता भएका एक दर्जन भन्दा बढी विधेयकहरूमाथि छलफल हुन नसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताउनु भएको छ ।

यसअघि प्रदेश सभाको बैठक ३ पटक स्थगित भई सकेको छ । पुस १४, १५ र १७ गते बोलाइएको बैठक स्थगित हुँदै पुस २४ गते समेत बैठक नबसि स्थगित भएको हो । गत आर्थिक वर्ष २०७५/७६ मा संचालन गरिएका योजनाहरूमा भएको खर्चको भुक्तानी दिनुपर्ने भन्दै सांसदहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।


दिपेन्द्रप्रसाद सिंह