प्रदेश नम्बर २ मा तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रमुख निर्वाचन आयुक्त यादव

  ०७४ साउन ६ गते

निर्वाचन अयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तेश्रो चरण अन्तर्गत प्रदेश नम्बर २ का आठ ओटै जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

महोत्तरीमा साउन ६ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताउँदै यसमा कसैले आशङ्का नगर्न आग्रह गरेका हुन् ।

यादवले राष्ट्रिय जनता पार्टी नेपाल पनि तेश्रो चरणमा हुने प्रदेश नम्बर २ को चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे ।

निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै प्रमुख आयुक्त यादवले मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षा लगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ गते नै तेस्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे ।

यसअघि उनले महोत्तरीको सदरमुकाम जलेश्वर स्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरी त्यहाँको निर्वाचनको तयारी अवस्था बारे जानकारी लिएका थिए ।


अजयकुमार साह