प्रदेशमा कोराना सर्तकता : गण्डकी प्रदेशका नाकामा हेल्थ डेस्क, कारागारमा कैदीबन्दी भेट्न रोक

  ०७६ चैत्र ५ गते

कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चैत ५ गते देखि कास्की कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ ।

कास्की कारागार प्रमुख गणेश गौतमका अनुसार कारागार प्रशासन र कैदीबन्दीबीच चैत्र ४ गते भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको हो ।

गौतमका अनुसार कोरोना संक्रमणलाई ध्यान दिदै कारागार भित्रै मास्क उत्पादन समेत सुरु गरिएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै कारागार भित्र २० जना सम्म रहन सक्ने गरि आइसोलेशन कक्ष निर्माण गरिएको गौतमको भनाई छ ।

कारागारमा हाल महिला पुरुष गरि  ८ सय ७० जना कैदीबन्दी रहेका छन् ।

कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पोखराको गण्डकी मेडिकल कलेज १५, मणिपालमा १५, चरक मेमोरियल अस्पतालमा २७ र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ वटा आइसोलेसन बेडको व्यवस्थापन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माणाधीन पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा रहेका चिनियाँ कामदारहरुलाई लक्षित गरि हेल्थ डेक्सको समेत व्यवस्थापन गरिएको छ ।

विमानस्थल आयोजना प्रमुख बिनेश मनुकर्मीले फेब्रुअरी महिना पछि आएका १ सय ७ जना चिनियाँ कर्मचारी र कामदारलाई उच्च सर्तकताका दैनिक स्वास्थ्य परीक्षण पश्चात उनीहरु काममा खटिएको जानकारी दिनुभयो ।

‘उनीहरु चीनमा समेत क्वारेन्टाइनमा बसेर फर्किएका हुन् यहाँ पनि नियमित परीक्षण गरिसकेपछि मात्रै काममा खटिएका हुन्’,उहाँले भन्नुभयो । कास्कीका स्थानीय तहले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । कोरोना भाइरस स्वासप्रश्वासबाट फैलनेमात्र नभएर हात मिलाउदा, नजिकै बस्दा, हिँड्डुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुने स्थानीय तहले आह्वान गरेका छन् ।

गण्डकी प्रदेशका नाकामा हेल्थ डेस्क

स्वास्थ्य निर्देशनालय गण्डकीका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार  त्रिवेणी, दाउन्ने, गैँडाकोट, नवलपुर, तनहुँको मुग्लिङ, आबुखैरेनी, गोरखाको आरुघाट, बागलुङको बुर्तिवाङ, स्याङ्जाको गल्याङ समेत हेल्प डेस्क खोलिने भएको हो । यस्तै मुग्लिङ, आबुखैरेनी, गल्याङमा संचालित हेल्प डेस्कले भारतबाट प्रवेश गरी आउने सवारीसाधनलाई विशेष निगरानीका साथ चेकजाँच गरि डा.शर्माको भनाई छ  ।

पोखरा बिमानस्थल र लेकसाइडमा महानगरको हेल्थ डेस्क

पोखरा महानगरपालिकाले कोरोना भाइरस संक्रमण भित्रन र फैलनबाट रोक्नका लागी पोखरा मनपा–६ लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना गरेको छ ।

सडकमा आवतजावत गर्ने व्यक्तिलाई ज्वरो नाप्ने, सेनिटाइजरको प्रयोग र रुखाखोकीबारे जानकारी गराइने व्यवस्था गरिएको पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।

महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार डेक्सबाट कोरोनाको लक्षण, बच्ने उपाय आदिबारे स्वास्थ्यकर्मीसहित सचेतनामूलक जानकारी गराइने छ ।

यस्तै प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा विमानस्थलमा पनि हेल्थ डेस्क स्थापना गरिएको छ ।

५० वेड माथिका सबै अस्पतालमा ५ बेड आइसोलसन स्थापन गर्न निर्देशन

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले फागुन २५ गते कोरोना भाइरस र अन्य सरुवा रोगको संक्रमणबाट सर्तकताका लागि समिति गठन गरेको थियो । सोही अन्र्तगत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संयोजक रहेको उच्चस्तरीय निर्देशन समितिले पोखराका ५० बेडभन्दा बढीका सबै सरकारी तथा निजी अस्पतालमा आफ्नै बजेट र स्रोतमा कम्तीमा ५ बेडको आइसोलसन वार्ड तत्काल स्थापना गर्न र कम्तीमा १० थान पसर्नल प्रोटेक्सन इक्प्युमेन्ट (पीपीई) सेट तयार राखेर व्यवस्थापन गर्न निर्देशन दिएको छ । भने क्वारेन्टाइन होमका लागि स्वास्थ्य तालिम केन्द्र, पोखरालाई पहिलो चरणमा उपयोगका लागि क्वारेन्टाइन होमको रुपमा विकास गर्ने निर्णय गरेको छ ।

यस्तै लेखनाथ स्थित लायन्स कलब शिशुवा सामुदायिक अस्पताललाई ५० बेडको डेडिकेटेड आइसोलेसन अस्पतालका रुपमा प्रयोग गरी तयारी अवस्थामा राख्ने भएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले स्थानिय पत्रपत्रिका, सञ्चार माध्यम मार्फत कोरोना सचेतना कार्यक्रमलाई समेत अगाडी बढाएको छ ।

मुस्ताङ

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–३ लेतेको लेते प्राथमिक स्वास्थ्य केन्द्र र घरपझोङ गाउँपालिका–४ जोमसोमको जिल्ला अस्पतालमा १ कोठा १ बेड क्षमताको आइसोलेसन वार्ड स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।


सुशन घिमिरे