निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा गिरफ्तार

  ०७७ साउन १६ गते

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेकाहरूको माग पुरा गर्न सरकारलाई दबाब दिनेक्रममा विवेकशील नेपाली दलकी २४ वर्षीया रञ्जु दर्शना सहित पाँच जनालाई प्रहरीले साउन १६ गते गिरफ्तार गरेको छ ।

प्रहरीले गिरफ्तार गरेकाहरूमा ३२ वर्षीय आलोक सुवेदी, २३ वर्षीय सौरभ न्यौपाने, २१ वर्षीय पवन थापा र ३४ वर्षीय नवराज उप्रेति रहेका छन् । प्रधानमन्त्री निवासको निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत महाराजगञ्जले जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले दिउँसो गिरफ्तार गरी महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको र साँझ छाडेको विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले जानकारी दिनुभयो ।

यसैगरी, इनफ इज इनफ अभियानका अभियन्ताहरू सुदन गुरुङ, सुदन मानन्धर, शशीविक्रम कार्की, बिक्रान्त खनाल, सहित २८ जनालाई पनि प्रहरीले बालुवाटार क्षेत्रबाट गिरफ्तार गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा सामाजिक दुरी कायम गरेर कोरोना महामारी रोकथाममा ध्यान दिन शान्तिपूर्ण दबाब दिने तयारी भइरहेका बेला आफूहरूलाई गिरफ्तार गरिएको शशिविक्रम कार्कीले काठमाडौँ जिल्ला प्रतिनिधिसँग टेलिफोन मार्फत जानकारी दिनुभयो । सबैलाई साँझै रिहा गरिएको थियो ।


विमला पौडेल