प्रदर्शनका क्रममा आन्दोलनकारी विद्यार्थी र प्रहरीबिच झडप्, ६ जना घाइते

  ०७४ पुस १८ गते

नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विभिन्न माग गर्दै पुस १८ गते काठमाडौँमा प्रदर्शन गरेपछि प्रहरीसँग भएको झडपमा परी आन्दोलनकारी दुई जना विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीले प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न, पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धि फिर्ता गर्न, नयाँ सरकार गठनको बाधक नबन्न माग गर्दै काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका थिए ।

आन्दोलनरत विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको पुत्ला बनाएर प्रदर्शनमा उत्रिएपछि प्रहरी र आन्दोलनरत विद्यार्थीबिच झडप् भएको थियो ।

त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको पुत्ला प्रहरीले खोसेपछि झडप् भएको अनेरास्ववियु सचिव आरसी लामिछानेले बताए ।

प्रहरीले पुत्ला खोस्ने क्रममा भएको झडप् अनियन्त्रित भएपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै आश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियु उपाध्यक्ष महेश बर्तौला, महासचिव ऐन महर, केन्द्रीय सदस्य दिपक धामी, सदस्यहरू शेखर बोहरा, दिपुकर पाण्डे, धर्मेन्द्र केसीलगायतका विद्यार्थी घाइते भएका छन् ।

घाइतेमध्ये उपाध्यक्ष बर्तौलाको टाउको र महासचिव महरको गोडामा चोट लागेको छ । बर्तौलाको टाउकोमा १७ ओटा टाँका लगाइएको अनेरास्ववियूका सचिव समीक बडालले जानकारी दिए । उनीहरूको उपचार काठमाडौँ मोडल अस्पतालमा भइरहेको छ । अन्य घाइतेहरू उपचारपछि घर फर्केका छन् ।

1

1

1

1


सुभाष साह