प्रतिबन्धित विप्लव समूहद्वारा ११ ओटा वडा कार्यालयमा तालाबन्दी

  ०७६ असार २२ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले अछामका दुई ओटा नगरपालिका र दुई ओटा गाउँपालिकाका ११ ओटा वडा कार्यालयमा २१ गते राति ताला लगाएको छ ।

मङ्गलसेन नगरपालिका–१ कुन्ती र १३ बस्ती, पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटी, ७ पुल्लेतोला, ८ बाराला, ९ कालेकाँडा, तुर्माखाद गाउँपालिका–२ भुलु र ७ तोषी, रामारोशन गाउँपालिका–३ शान्तडा, ४ बाटुलासैन र ६ भाटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जानकारी दिएका छन् ।

राति कार्यालयमा लगाइएको ताला तोडेर विप्लव समूहले आफ्नो ताला लगाएको मङ्गलसेन नगरपालिका–१ का अध्यक्ष गोपाल थापाले जानकारी दिए ।

वडा कार्यालयमा तालाबन्दी गरिएपनि अन्य क्षति नभएको सम्बन्धित स्थानीय तहले जानकारी दिएका छन् ।

तालाबन्दीसँगै नेपाल कम्युनिष्ट पार्टी सेती महाकाली ब्युरोको पर्चा समेत टाँसिएको छ । विप्लव समूहका गतिविधि जिल्लामा बढेपछि स्थानीय तहका जनप्रतिनिधि त्रासमा रहेका छन् ।

अछाम प्रहरीले भने ६ ओटा वडा कार्यालयमा मात्र तालाबन्दी गरेको र विप्लव समूहले लगाएका ताला तोड्न प्रहरी परिचालन गरिएको डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

विप्लव समूहका कार्यकर्ता गिरफ्तार गर्न जिल्लामा विभिन्न प्रहरी एकाइबाट ४५ जना र २५ जना सशस्त्र प्रहरी परिचालन भएको डिएसपी शाहीको भनाई छ ।

विप्लव समूह अछामले ११ ओटा वडा कार्यालयमा तालाबन्दी गरेको स्वीकार गरेको छ । विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिवालय सदस्य सौगातले तालाबन्दीको जिम्मा लिएका हुन् ।

अज्ञात पक्षले केही हप्ता अघि जिल्लाका दुई ओटा वडा कार्यालयमा आगजनी गरेको छ भने वैशाखको अन्तिम दिन मङ्गलसेन नगरपालिकाको गाडीमा आगजनी गरेर ध्वस्त बनाएको थियो ।


शिवराज ढुङ्गाना