प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको आरोपमा ६ जना गिरफ्तार

  ०७६ चैत ७ गते

माई नगरपालिका–१ का अमर राईसहित ६ जनालाई प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा आरोपमा गिरफ्तार गरेको छ ।

सो पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले फागुन १५ गतेदेखि चैत ३ गते सम्मको अवधिमा ६ जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी हिराबहादुर पाण्डेले बताउनुभयो ।

गिरफ्तारी हुनेमा माङसेबुङका सान्तिल मगर, फाकफोकथुम गाँउपालिका–१ का गङ्गाराम भट्टराई, दलित मुक्तिमोर्चाका जिल्ला अध्यक्ष धनबहादुर लामगादे र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष विशाल गजमेर छन् ।

पछिल्लो पटक फागुन २७ गते विद्यार्थी नेता गजमेर र चैत ३ गते दलित नेता लामगादेलाई गिरफ्तार गरेको एसपी पाण्डेले बताउनुभयो । यस्तै फागुन १३ गते कमाइ नगरपालिकाका नविन राईलाई डेटोनेटरसहित गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

०७६ पुस २८ गते राती जीतपुर स्थित एनसेल टावरमा आग्जनी गरेको मुद्दामा संलग्न भएको आशंकामा सो पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष गंगाराम राईलाई गिरफ्तार गरेको एसपी पाण्डेले बताउनुभयो ।

अमर राई, माङसेबुङका सान्तिल मगर र धनबहादुर गजमेरलाई माइ नगरपालिका स्थित चिलिमकोट चिया बगानमा रहेको रवर प्रोसेसिङ सेन्टरमा क्षति पुर्याएको मुद्दा चलाइएको छ । गिरफ्तारीमा परेका अमर राई, सान्तिल मगर र गङ्गाराम भट्टराईलाई भने जिल्ला अदालतले फागुन २३ गते पुर्पक्षका लागि थुनामा पठाएको छ । अन्यलाई भने अनुसन्धानमै राखिएको प्रहरीले जनाएको छ ।

 

 


कोकिला ढकाल