प्रतिबन्धित नेकपाका सुनसरी इञ्चार्ज अदालत परिसरबाटै पुन: गिरफ्तार

   ०७६ फागुन १३ गते

कटारी नगरपालिका–४ का ३७ वर्षीय लक्ष्मण पौडेललाई प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको सुनसरी जिल्ला इञ्चार्ज भएको आरोपमा फागुन १२ गते जिल्ला अदालत उदयपुर परिसरबाटै पुन: गिरफ्तार गरेको छ ।

सर्वोच्च अदालतको आदेशपछि  जिल्ला अदालतमा कानुनी र कागजी प्रक्रिया पुरागरी फागुन १२ गते दिउँसो ३ः३० बजे गेटबाट बाहिरिएका पौडेललाई सुरक्षार्थ खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताउनुभयो । पौडेल रिहा हुने खबर पाए लगत्तै अदालत परिषरमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

मेची–कोशी प्रादेशिक कमिटी सदस्य समेत रहेका पौडेलले अदालतबाट बाहिरिने क्रममा राजनीतिक आस्थाका आधारमा वर्तमान सरकारले दुःख दिने नियत गरेको बताउनुभयो ।

पौडेललाई गिरफ्तार गर्ने बित्तिकै उदयपुर प्रहरीले आफ्नो सिमा क्षेत्र त्रियुगा नगरपालिका –६ स्थित लालपत्तामा पुर्याएको थियो । सिमास्थलबाट उनलाई मुद्दा दर्ता भएको सिरहा जिल्ला पठाइएको एसपी वीरबहादुर बुढामगरले बताउनुभयो ।

एसपी मगरले आरोपितले ०७४ माघ १० गते अर्नामा गाँउपालिका–२ स्थित ब्रह्मपुरीमा रहेको एनसेल टावरमा आगजनी गरेको विषयमा सोधपुछका लागि सिरहा जिल्ला अदालतबाट पक्राउको आदेशसहित पुर्जी आएकाले उतै पठाएको बताउनुभयो ।

बम विष्फोटन, सार्वजानिक यातायात आवागमनमा अवरोध र व्यक्तिको घरमा बम राखेको गरी जिल्ला अदालतमा तीन वटा मुद्दा खेपिरहेका पौडेललाई अदालतले दुई मुद्दामा धरौटीमा रिहा गर्नु र एक मुद्दामा पुर्पक्षका लागि थुनामा राख्नु भन्ने आदेश गरेको थियो ।

अदालतको रिट निवेदक पौडेलको हकमा विनोद श्रेष्ठले ०७६ फागुन ७ गते जिल्ला प्रहरी कार्यालयसमेत भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनअनुसार सर्वोच्चले फागुन ८ थुनामुक्त गर्न भन्दै जिल्ला कारागार उदयपुरलाई परिपत्र गरेको थियो ।

रिटमा ०७६ असोज ७ गते सुनसरी जिल्लामा गिरफ्तारीमा परेका पौडेललाई दुई महिनासम्म हिरासतमा राखि सुनसरी अदालतबाट २५ हजार रुपियाँ धरौटीमा रिहा भए लगत्तै सोही दिन गिरफ्तार गरी पुन: झापा लगिएको थियो ।

झापा अदालतले एक लाख रुपियाँ धरौटीमा रिहा गरेलगत्तै पुनः सवारी आवागमनमा अवरोध पुर्याएको आरोपमा झापामै गिरफ्तार गरी राखिएकोमा अदालतले २५ हजार रुपियाँ धरौटीमा रिहा गरेपछि पुनः सुनसरी प्रहरीले गिरफ्तार गरेको थियो ।

सुनसरी अदालतबाट साधारण तारेखमा रिहा भएका पौडेललाई उदयपुर ल्याएको रिटमा उल्लेख छ । ‘यसरी जिल्लाबाट धरौटी, तारेख वा साधारण तारेखमा रिहा हुँदासमेत पटक–पटक गिरफ्तार गरी राख्ने, थुन्ने मनसायबाट वदनियतपूर्वक भएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३७ (क) र (ख) बमोजिम थुनामुक्त गरी दिनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी दिएको छ ।

सर्वोच्चको आदेश पाएको ६ दिन पछि कारागारले पौडेललाई जिल्ला अदालतमा उपस्थित गराई रिहा गरेको हो । पौडेलकी पत्नी रीता ढुङ्गानाले पटकपटक गिरफ्तार गरी राज्यले दुख दिएको बताउनुभयो ।


भरत खड्का